नेपाली सेयर बजार मंगलबार पुनः ओरालो लागेको छ। लगातार तीन दिनदेखि नेप्से परिसूचकमा गिरावट भइरहेको छ। आज नेप्से ९.९६ अंकले घटेर २,६८८ बिन्दुमा झरेको छ।
बजार खुलेको १३ मिनेटमै परिसूचक २,७०७ सम्म पुगेपनि त्यसपछि सुधार कायम रहन सकेन। यसले लगानीकर्ताको मनोबल अझै सन्तुलनमा आउन नसकेको संकेत दिएको छ।
बजार घटेसँगै कुल कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार ८ अर्ब ३२ करोड रुपैयाँमा खुम्चिएको छ।
कुल ८६ कम्पनीको सेयर मूल्य बढेको भएपनि १६० कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रह्यो।
यद्यपि अन्य समूहले २.२१ प्रतिशतले उकालो लागेको छ। नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा भएको वृद्धि कारण यस समूहमा सकारात्मक असर परेको हो।
होटल तथा पर्यटन समूह ०.७९ प्रतिशत र उत्पादनमूलक समूह १.१८ प्रतिशतले बढेका छन्। अन्य सबै समूह भने ओरालो लागेका छन्। लगानी समूहमा सबैभन्दा बढी १.८७ प्रतिशतको गिरावट देखिएको छ।
बैंकिङ समूह ०.७३, विकास बैंक १.६१, फाइनान्स ०.३५, जलविद्युत ०.६७, जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.४१ र व्यापार समूह १.६५ प्रतिशतले घटेका छन्।
उल्लेखनीय रूपमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले उकालो लागेको छ। मकर जितुमाया सुरी हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर र नेपाल पुनर्बीमाले पनि क्रमशः ७.४७, ५.३० र ४.८३ प्रतिशतले वृद्धि गरेका छन्।
अर्कोतर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट भएको कम्पनी बन्यो। ङादी ग्रुपको मूल्य ३.८८ प्रतिशत र एचआईडीसीएलको ३.७९ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, हिमालयन पावर पार्टनर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत् क्रमशः अग्रस्थानमा रहेका छन्।