पाहलगाममा हालै सम्पन्न भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध फेरि तनावपूर्ण बन्न थालेको छ। घटनामा २६ जनाको मृत्यु भएपछि भारतले कडा प्रतिक्रिया जनाउने सम्भावना बढेसँगै पाकिस्तानले पनि आफ्नो वायुसेनालाई उच्च सतर्क अवस्थामा राखेको छ।
पाकिस्तानी वायुसेनाका टोही विमानहरूले भारतसँगको सीमावर्ती क्षेत्रको आकाशीय गतिविधिमा गहिरो नजर राखिरहेका छन्। पाकिस्तानलाई आशंका छ कि भारतले बालाकोट एयरस्ट्राइकजस्तै कुनै सैन्य कदम चाल्न सक्छ। भारतीय सुरक्षा संयन्त्रले पनि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।
यसबीच, भारतका लागि पाकिस्तानका पूर्व उच्चायुक्त अब्दुल बास्तले सामाजिक सञ्जाल X (पहिलेको ट्विटर) मा प्रतिक्रिया दिँदै लेखेका छन्, "मलाई विश्वास छ कि इस्लामाबाद भारतको कुनै पनि दुस्साहसलाई जवाफ दिन तयार छ। यसपटक पाकिस्तानको प्रतिक्रिया अत्यन्त कठोर हुनेछ।"
आक्रमणको ढाँचा चिन्ताजनक
पाहलगामको पर्यटकीय क्षेत्रमा भएको यस आक्रमणमा ८–१० आतंकवादी संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तीमध्ये २–३ जना स्थानिय सहयोगी थिए, जसले प्रहरीको पोशाक लगाएर पाकिस्तानी आतंकवादीहरूलाई आक्रमणस्थलसम्म पुर्याएको आशंका गरिएको छ। स्थानीय भाषा प्रयोग गरेर उनीहरूले आफ्ना गतिविधिमा शंका नउठ्ने प्रयास गरेका थिए।
अनुमान अनुसार, बाँकी ५–७ जना पाकिस्तानी मूलका आतंकवादीहरू थिए। यसले आतंकवादी नेटवर्कको सीमा पारको समन्वय झनै स्पष्ट बनाएको छ।
मृतकमा विदेशी पर्यटकहरू पनि
अधिकारीहरूको अनुसार, आक्रमणमा ज्यान गुमाउने २६ व्यक्तिमध्ये दुई विदेशी नागरिकसमेत थिए। तीमध्ये एक युएईका र अर्का नेपाली नागरिक रहेको पुष्टि भएको छ।