“हामीलाई पनि गोली हान, मलाई र मेरा छोराछोरीलाई पनि मार,” पल्लवी रावले आँखा रसाउँदै भनिन्। तर आतंककारीले भने, “जाऊ, मोदीलाई खबर गर।”
कश्मीरको रमणीय पहलगाममा पल्लवी र उनका पति मंजूनाथ राव पहिलो पटक छुट्टी मनाउन आएका थिए। रमाइला पलहरू संग्रह गर्न आएका उनीहरूका लागि त्यो यात्रा जिउँदो नरहने एक भयावह कथा बन्यो।
कर्नाटकको शिवमोगाबाट जम्मू-कश्मीर घुम्न आएका ४६ वर्षीय मंजूनाथ रावको आँखैअगाडि आतंककारीले गोली हानेर हत्या गरे। पल्लवीका अनुसार, आतंककारीहरूले गोली चलाउनु अघि नै पर्यटकहरू कुन राज्यका हुन् भनेर सोधपुछ गरिरहेका थिए। त्यसपछि टार्गेट बनाएर मार्न थाले।
यो केवल आकस्मिक आक्रमण थिएन, यो त सुनियोजित नरसंहार थियो , जसमा विदेशी पर्यटक, भारतका विभिन्न राज्यका घुमन्ते नागरिकहरू, सबै निशानामा थिए।
पल्लवीको अनुसार, “आतंककारीले भारतको पर्यटक स्थलोंमा त्रास फैलाउनका लागि यो हमला गरेका हुन्।”
परिवारको पहिलो यात्रा, र अन्तिम पनि
मंजूनाथको परिवार १९ अप्रिलमा पहलगाम पुगेको थियो। उनका छोराको १२ कक्षाको परीक्षा सकिएपछि घुम्न जाने योजना बनाएका थिए। परिवारसहितको यो यात्रा उनीहरूको लागि पहिलो थियो— र अन्तिम पनि बन्यो।
२४ अप्रिलमा घर फर्कने योजना
८ अप्रिलमा कश्मीर प्रस्थान गरेका मंजूनाथ २४ तारिखमा घर फर्कने योजना बनाउँदै थिए। उनले आमा र बहिनीसँग सम्पर्क गर्दै शुभकामना सन्देश पठाएका थिए। तर त्यो अन्तिम सन्देश सावित भयो।
सरकारको उच्चस्तरीय प्रतिक्रिया
यो आक्रमणले भारतभरि शोकको लहर फैलाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरब भ्रमण छोट्याउँदै भारत फर्किए र सुरक्षा बैठकमा सहभागी भए। गृह मन्त्री अमित शाह स्वयं कश्मीर पुगेका छन्।
पर्यटन र शान्तिप्रतिको आघात
यो हमला केवल पर्यटकको हत्या थिएन, यो भारतको पर्यटन, शान्ति र अन्तर्राष्ट्रिय छविमाथिको सोझो प्रहार थियो। दुई जना विदेशी नागरिक (एक यूएई र एक नेपाली) समेत मारिएका छन्।