२२ अप्रिल २०२५ मा जम्मु कश्मीरको पहलगाममा भएको आतंकी आक्रमणको चपेटामा क्रिकेटसमेत पर्यो। २६ जनाको ज्यान जाने उक्त घटनापछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तानसँग भविष्यमा कुनै पनि द्विपक्षीय श्रृंखला नगर्ने घोषणा गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई औपचारिक पत्रमार्फत आफ्नो अडान स्पष्ट बनाएको छ।
प्रारम्भिक चरणमै भारत–पाक भिडन्त टार्नुपर्ने बीसीसीआईको माग
क्रिकबजको रिपोर्टअनुसार, बीसीसीआईले आईसीसी तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) दुबैलाई आग्रह गर्दै अब कुनै पनि प्रतियोगिताको समूह चरणमा भारत र पाकिस्तान एउटै समूहमा नराख्न आग्रह गरेको हो। यदि दुबै टोली सेमीफाइनल वा फाइनलमा पुगे भने भिडन्त स्वाभाविक हुने तर प्रारम्भिक चरणमै भिडन्त नहोस् भन्ने भारतीय अडान छ।
महिला क्रिकेटमा पनि असर
सेप्टेम्बरमा भारतको आयोजनामा हुने महिला एकदिवसीय विश्वकपमा पाकिस्तान महिला टोली सहभागी हुँदैछ। यसले भारत–पाक महिला क्रिकेट प्रतिस्पर्धालाई लिएर पनि विवादको आँधी ल्याउन सक्छ। यद्यपि बीसीसीआईले समूह चरणमा भिडन्त नहोस् भन्ने प्रयास गरिरहेको छ।
एशिया कपमाथि अनिश्चितताको बादल
पुरुष क्रिकेटतर्फ, २०२६ को टी–२० विश्वकप भारत र श्रीलङ्कामा आयोजना हुनेछ, तर त्यसअघि नै भारतले आयोजना गर्ने एशिया कप नै असमञ्जसमा परेको छ। भारत–पाकिस्तान समूह A मा परेका छन्, जसमा यूएई र हङकङ पनि छन्। यता समूह B मा बाङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का र ओमान छन्।
पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरिसकेकोले प्रतियोगिता न्यूट्रल भेन्युमा गर्ने सम्भावनाबारे छलफल तीव्र भएको छ।
टूर्नामेन्ट रद्द पनि हुन सक्ने
बीसीसीआई र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बीचको राजनीतिक सम्बन्ध र भरोसाको स्तरले एशिया कपको भविष्य अन्योलमा पारेको छ। यदि दुबै बोर्डबीच सहमति जुटेन भने, विश्लेषकहरू टूर्नामेन्ट नै रद्द हुने सम्भावनालाई पनि नजरअन्दाज गरेका छैनन्। हालसम्म टूर्नामेन्टको शेड्युल सार्वजनिक भएको छैन र मे महिनासम्म टुंगो लाग्ने अपेक्षा गरिएको छ।