गत ९ गते भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंकी हमलापछि देशभर तनाव र त्रास फैलिएको छ । उक्त हमलामा २६ जनाको ज्यान गएको थियो । हमलासँग जोडिएको मुख्य अभियुक्तमध्ये एक रहेका दक्षिण कश्मीर, अनन्तनागका आदिल हुसैन थोकरको घरमा पनि सुरक्षाफौजले अनुसन्धान थालेको छ।
तर, यस घटनालाई नयाँ मोड दिँदै आदिलकी आमा शहजादा बानोले सार्वजनिक रूपमा चकित पार्ने बयान दिएकी छिन् । उनले भनिन्, “यदि मेरो छोरा आदिल यो हमलामा संलग्न भएको हो भने सुरक्षाफौजले तुरुन्तै उसको इन्काउन्टर गर्नुपर्छ।”
उनको थप भनाइ थियो, “यदि आदिल त्यो स्थानमा उपस्थित थियो भने त्यहीँ इन्काउन्टर गरिनु पथ्र्यो। उसले हाम्रो परिवारलाई दुःख दिएको छ। यदि बाँचिरहेको छ भने उसले आत्मसमर्पण गरोस्।”
‘२०१८ देखि सम्पर्कविहीन’
शहजादा बानोका अनुसार आदिल सन् २०१८ मा घरबाट निस्किएपछि फर्किएको छैन। “त्यसपछि ऊसँग हाम्रो कुनै सम्पर्क भएको छैन,” उनले बताइन्।
घरमै विस्फोट, सबै ध्वस्त
भारतीय सुरक्षा निकायले लश्कर–ए–तैयबा आतंकवादीहरू आदिल हुसैन थोकर र आसिफ शेखको घरमा खोजतलास गरिरहेका बेला, घरमै लुकाइएको विस्फोटक पड्किँदा दुई घर पूर्ण रूपमा ध्वस्त भएका छन्।
अधिकारीहरूका अनुसार, शंकास्पद आतंकी आदिल पहलगाम हमलामा प्रत्यक्ष संलग्न थिए। पुलवामाको त्राल क्षेत्रका अर्का अभियुक्त आसिफ शेखमाथि पनि योजनाकारको संदेह गरिएको छ।
आतंकको विरुद्ध आमाको स्पष्ट सन्देश
यस्तो संवेदनशील अवस्थामा एक आमाबाट आएको इमान्दार अभिव्यक्तिले धेरैको ध्यान खिचेको छ। आतंकको विरुद्ध शहजादा बानोको बयानले यस्तो घटनामा परिवारका सदस्यहरू पनि कति पीडामा हुन्छन् भन्ने कुरालाई उजागर गरेको छ।