नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले अमेरिकी प्रविधि कम्पनी मेटालाई ७ दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। मन्त्री गुरूङले मेटा (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपको मातृ कम्पनी) नेपालमा कर नतिरी खुलेआम पैसा लुटिरहेको आरोप लगाउँदै यदि अब पनि दर्ता नभए कडा प्रतिबन्ध लगाइने स्पष्ट पारेका हुन्।
तीनपटक सूचना जारी गरियो, म्याद सकियो
शुक्रबार काठमाडौंमा आयोजित सूचना आयोगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरूङले मेटालाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको बताए। "अहिले तेस्रोपटकको म्याद सकिएको छ। अब ७ दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाइन्छ," उनले चेतावनी दिए।
"फेसबुक–इन्स्टाग्रामबाट पल–पलमा पैसा बाहिरिन्छ"
गुरूङका अनुसार, मेटाका उत्पादनहरू (फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएप) नेपाली समाजमा अत्यन्तै सक्रिय छन्। उनले भने, "हरेक घण्टा नेपाली समाजबाट मेटाको अफिसमा २–४ हजार रुपैयाँ जाँदैछ। कर पनि तिर्नु नपर्ने? हाम्रो पैसा लुट्ने?"
“हाम्रो जिडिपीभन्दा बढी आम्दानी भएको घमण्ड”
मन्त्री गुरूङले मेटाले नेपालको समग्र अर्थतन्त्रलाई हेपेर व्यवहार गरेको आरोप पनि लगाए। “उनीहरू भन्छन्, नेपालको जिडिपी कति हुन्छ र? हाम्रो कम्पनीभन्दा सानो हो देश नै। यस्तो घमण्ड देखाइन्छ।” उनले थपे, “मुलुकको स्वाधीनता पैसामा जोडिँदैन। हामी सानो भए पनि स्वाभिमान ठुलो छ।”
अहिलेसम्म मात्र तीन एप दर्ता
उनका अनुसार, हालसम्म नेपालमा टिकटक, भाइबर र वी–टक मात्र आधिकारिक रूपमा दर्ता छन्। मेटा लगायतका ठूला प्लेटफर्महरू अझै दर्ता नभएको जनाउँदै उनले अब सरकारले कुनै पनि बहाना नसुन्ने संकेत दिएका छन्।