मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बारामा सञ्चालनमा रहेका एक दर्जन निजी अस्पताल र क्लिनिकहरु मापदण्ड विपरीत सञ्चालित भेटिएपछि तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
शनिबार बाराको कलैयामा गरिएको अनुगमनका क्रममा मापदण्ड नपुगेका १२ वटा स्वास्थ्य संस्था बन्द गराउन मुख्यमन्त्री सिंहले निर्देशन दिएको उनका सचिवालयले जानकारी दिएको छ।
"स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले आधारभूत मापदण्ड पुरा नगरी सञ्चालन गर्नु गम्भीर लापरवाही हो," मुख्यमन्त्री सिंहले भने, "सर्वसाधारणको स्वास्थ्यसँग खेलबाड गर्न दिन सकिँदैन।"
बन्द गर्न निर्देशन दिइएका अस्पताल र क्लिनिकहरु यस्ता छन्: योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि, समाज प्रसुति तथा जेनेरल अस्पताल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि, रारा हस्पिटल प्रालि, राजकुमारी पोलि क्लिनिक, न्यु जीवन ज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आशीर्वाद अस्पताल।
मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरका अनुसार ती अस्पताल तथा क्लिनिकहरुलाई लिखित रूपमा बन्द आदेश जारी गरिएको छ।
"कतिपय संस्थाले केवल स्थानीय तहबाट अनुमति लिई १५ शय्या सम्मका अस्पताल सञ्चालन गरिरहेका थिए," ठाकुरले बताए, "संघीय कानुन अनुसार आवश्यक पूर्वाधार, जनशक्ति र सेवा मापदण्ड पुरा नगरेका कारण बन्द गर्न बाध्य भएका हौं।"
प्रदेश सरकारका अनुसार अबदेखि स्वास्थ्य संस्थाहरुको नियमित अनुगमनलाई तीव्रता दिइने र मापदण्ड नपुरा गर्नेहरुमाथि कडा कारबाही गरिनेछ।