सामुदायिक विद्यालयका शिक्षकहरुको राष्ट्रिय आन्दोलन र नेपाल सरकारको लापर्वाहीले दलित समूदायका बालबालिका विद्यालय भर्ना हुनबाट यो वर्ष पनि बञ्चित हुने सम्भावना बढेर गएको छ । बालबालिका भर्ना अभियानका समयमा नै शिक्षकहरुको राष्ट्रिय आन्दोलन र सरकारको लापर्वाहीले दलित समूदायका बालबालिका विद्यालय भर्ना हुनबाट बञ्चित हुने सम्भावना बढेर गएको हो ।
सरकारले निःशुल्क शिक्षाको नारा लगाए पनि दलित र पिछडिएको वर्गका बालबालिका शिक्षक र सरकारकै कारण यो वर्ष छुट्ने स्थानीयको आँकलन पनि बढेर गएको छ । भर्ना अभियानका क्रममा वीरगंज महानगरपालिकाको वडा नं–१६ नगवा घुसुकपुरस्थित डोम समुदायका बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर हुने पाइएको छ । सो वडाको घुसुकपुर र फुलबारी टोलस्थित डोम समुदायका २० घर परिवारका अधिकांश बालबालिका विद्यालय शिक्षा बाहिर हरेका छन् । त्यो समुदायमा विद्यालय जाने उमेर समूहका ५६ जना बालबालिका रहेको स्थानीयको भनाइ छ । २०८० श्रावणमा गरिएको सर्वेक्षण अनुसार १५ जना बालबालिका विद्यालय जाने गरेको पाइएको थियो । ४१ जना बालबालिका विद्यालय बाहिर रहेको भेटिएको थियो । विद्यालय बाहिर रहेका ४१ जना बालबालिका मध्ये १७ जना छात्र र २४ छात्रा रहेको सर्वेक्षकले जनाएको थियो । सर्वेक्षण स्थानीय सरकारले गरेको खुलेको छ ।
सरकारी विद्यालय सो वडामा २ वटा रहे पनि स्थानीय डोम समुदायका बालबालिका भने विद्यालय जान नपाएको स्थानीय गोपी मल्लिकको दुःखेसो छ । विद्यालय जानबाट वञ्चित ४१ बलबालिका मध्ये उनका तीन छोरा गणनामा परेका थिए । वडामा दुई वटा विद्यालय र छिमेकी वडाहरुमा सामुदायिक विद्यालय हुदाँ पनि सामुदायिक विद्यालयले दिने शिक्षा र सुविधाको बारेमा जानकारी नहुदाँ निजी विद्यालयमा पढाउने आर्थिक अवस्था नहुदाँ अभिभावकहरुले बालबालिकाको पढाई प्रति बेवास्ता गरेको मल्लिकको तर्क छ । वीरगन्जको माईस्थान स्थित विद्यापिठ मा.वि.मा अंग्रेजी माध्यमको शिक्षाको विषयमा जानकारी पाएपछि उनको ३ छोरालाई भर्ना गराई अहिले सोही विद्यालयमा नै पढिरहेको गोपी मल्लिकको भनाइ छ ।
छिमेकी वडाका विद्यालयबाट विद्यार्थी भर्ना अभियानको टोली टोलमा आएको घुसुकपुरका डोम समुदायका अगुवा हिरामन मल्लिकले बताए । आफ्नो वडामा विद्यालय नजिक भए पनि पढाई राम्रो नहुने भएकोले बालबालिका विद्यालय पठाउन डर लागेको उनको भनाइ छ । अंग्रेजी माध्यमबाट माईस्थान विद्यापिठ विद्यालयमा पढाई हुने भए पनि साना बालबालिकालाई २ वटा हाइ–वे रोड काटेर त्यहाँ जान कठिन हुने भएपछि समस्या भएको बुझिएको छ । दैनिक रोड काटेर जानुपर्दा दुर्घटना हुने सम्भावनाले पनि बालबालिकालाई विद्यालय पठाउन नसकिएको डोम समुदायको अगुवाहरुले दावी गरे ।
छिमेकी वडा वीरगंज–७ को विद्यालयबाट भने विद्यार्थी भर्ना अभियानकालागि हरेक वर्ष डोम समुृदायमा पुग्ने गरे पनि आफ्नै वडाका विद्यालयको टोली आउने गरेको पनि स्थानीयले दावी गरे । छिमेकी वडा वीरगंज–७ को सामुदायिक विद्यालय माईस्थान बालमन्दिर र माईस्थान विद्यापिठमा बालबालिकाहरु अध्ययनरत थिए । भर्खरै स्थापना भएको नीजि विद्यालयले विद्यार्थी तान्ने होडबाजी गरेर समुदायको बालबालिकालाई मासिक १ हजार फिस लिने सम्झौता अनुसार सरकारी विद्यालयमा बालबालिका पठाउने सोच नै नबनाएको अभिभववकको तर्क छ । कारण एक हजार फी तिरेपछि नीजि विद्यालयले किताब, स्टेशनरी, डे«स निःशुल्क दिने शर्त गरिसकेको पनि उनीहरुले खुलासा गरे । अहिलेसम्म बालबालिकालाई भर्ना गर्न कुनै कदम नचालेको उनीहरुको भनाइ छ । दलित, पिछडिएका वर्गसँग नीजि विद्यालयहरुले पनि उपहारको होडबाजी मच्चाएको बुझिएको छ ।
विद्यालयमा भएको विद्यार्थीको संख्यालाई भौतिक साधन, दक्ष जनशक्तिले धान्न नसक्ने अवस्था भएको कारण अंग्रेजी माध्यमबाट मात्र पढाई हुने स्थानीय माईस्थान विद्यापिठ मा.वि.मा प्रधानाध्यापक मुन्निलाल कर्णले बताए । नयाँ विद्यार्थी भर्ना गर्न विद्यालयमा भएको भौतिक पूर्वाधार र शिक्षक अभावले समस्या भइरहेको उनको भनाइ छ । तथापि पढ्न ईच्छुक बालबालिका कोही भर्ना हुन आए ठाडै नाई पनि नभन्ने प्र.अ. कर्णले तर्क गरे । पालिका भित्रका सबै वडाका प्रमुखहरुलाई राखेर विद्यार्थीको लगत संकलन गरी सामुदायिक विद्यालयहरुले भर्ना अभियान सञ्चालन गर्न आह्वान गरिएको वीरगन्ज महानगरपालिकाको भनाइ छ । खुल्ला रुपमा भर्ना अभियान सञ्चालन गर्न शिक्षक महासंघको अवरोधका कारण केही प्रभाव परिरहेको पनि महानगरको तर्क छ ।
वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखा माताहत संचालित विद्यालयमा समन्वय गरेर भर्ना प्रक्रियालाई अगाडी बढाउने सोचरहेको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले बताए । वीरगंज महानगरको १६ र ४ नंं वडाको कुनै पनि दलित बस्ती र पिछडीएका समूदायका बालबालिकाहरु कोही पनि शिक्षाबाट वञ्चित नहुन् भनी लक्षित नै गरेर अभियान संचालन गर्न पनि निर्देशन दिइसकेको उनले दावी गरे ।
डोम समुदायका बालिबालिका बढि वीरगन्ज वडा नं.–१६ का वडाध्यक्ष पर्शुराम चौरसिया भने डोम समुदायका बालबालिकालाई विद्यालय भर्ना अभियान गराउने अभियानमा खासै नलागेको स्थानीयको आरोप छ । वडाध्यक्ष चौरसिया भने त्यो आरोप सत्य नभएको दावी गर्छन् ।