नेपाल शिक्षक महासंघले सरकारलाई शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराएको आरोप लगाएको छ।
आइतबार काठमाडौंको बानेश्वरमा आयोजित शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरू आफ्नो ज्यान दिन समेत तयार रहेको चेतावनी दिएका छन्।
"हामी शिक्षक हौं। लाठी छैन, हतियार छैन। शान्तिपूर्ण आन्दोलनलाई भड्काउन सरकारले घुसपैठी पठाएर आफ्नो नाङ्गो रुप देखाएको छ," अध्यक्ष सुवेदीले भने, "यस्ता सरकारले होइन, हजुरबुबाको सरकार आए पनि हाम्रो आन्दोलनलाई दमन गर्न सक्दैन।" उनले सरकारलाई आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगर्न चेतावनीसमेत दिए।
बानेश्वर क्षेत्रमा आन्दोलनको क्रममा प्रहरी र शिक्षकबीच झडप भएको थियो। प्रहरीले आन्दोलन नियन्त्रण गर्न पानीको फोहरा प्रहार गरेको थियो। नेपाल शिक्षक महासंघका अनुसार सो झडपमा १५ भन्दा बढी शिक्षक घाइते भएका छन्।
घटनापछि शिक्षकहरू झन् आक्रोशित भएका छन्। महासंघका अनुसार भोलि (सोमबार) अझ ठूलो संख्यामा शिक्षक र कर्मचारी काठमाडौंमा भेला हुनेछन्।
"भोलि आजको भन्दा तीनगुणा बढी शिक्षकहरू काठमाडौं भेला हुनेछन्," अध्यक्ष सुवेदीले भने, "अहिले नै हरेक शिक्षकले 'अब हामी पनि आउँछौं' भन्दै फोन गरिसक्नुभएको छ।"
महासंघले शान्तिपूर्ण आन्दोलन जारी राख्ने र माग सम्बोधन नभएसम्म संघर्ष थप चर्किने चेतावनी दिएको छ।