बेलायतको समयअनुसार साँझ ६:२४ बजे, एनफिल्डको कोपतर्फको कुनामा रहेको रातो सेतो घडीले नयाँ युगको सुरुवात संकेत गर्यो। लिभरपुलले टोटेनहम हट्स्परलाई सहजै पराजित गर्दै, ३५ वर्षपछि आफ्नै घरेलु मैदानमा इंग्लिस प्रिमियर लिगको उपाधि उचाल्न सफल भयो। यससँगै, लिभरपुलले म्यान्चेस्टर युनाइटेडको २० उपाधिको कीर्तिमानसमेत बराबरी गरेको छ।
लिभरपुलका समर्थकहरू बिहानैदेखि एनफिल्ड वरपर रातो रंगमा डुबेका थिए। क्लबको बस स्टेडियममा प्रवेश गर्दा रातो धुवाँ र पटाका पड्किएको आवाजले पूरा वातावरणलाई ऊर्जाले भरिदिएको थियो। समर्थकहरूले समातेका स्कार्फ र ब्यानरमा गर्वका साथ लेखिएको थियो: “इङ्ल्यान्डको सबैभन्दा सफल क्लब।”
यो केवल एउटा जित मात्र थिएन, यो एउटा पुस्ताको सपना पूरा हुने क्षण थियो। अन्ततः, लिभरपुलले आफ्नै समर्थकहरूसँग, आफ्नै गढ एनफिल्डमा, आफ्नै शैलीमा जितको खुसी बाँड्न पाएको थियो — जुन १९९० मा सर केनी डल्ग्लीशले क्वीन्स पार्क रेंजर्सविरुद्ध अन्तिम पल्ट सम्भव बनाएका थिए।
२०२० मा जर्गेन क्लपको नेतृत्वमा लिभरपुलले प्रिमियर लिग जितेको थियो, तर कोरोना महामारीका कारण त्यो उत्सव सुनसान स्टेडियममा सीमित हुनुपरेको थियो। त्यसैले, यो वर्षको जितले पूर्ण भावनात्मक विस्फोट निम्त्यायो। खेल सकिएपछि आकाश रातो धुवाँले भरियो, आतिशबाजी पड्किए, र समर्थक तथा खेलाडीहरू भावुक भए।
यो सफलता पछाडि रहेको थियो नयाँ मुख्य प्रशिक्षक आर्ने स्लटको सहज नेतृत्व। डच प्रशिक्षक स्लटले, जर्गेन क्लपको विशाल छायाँ पछाडि नअल्झिएर, आफ्नै शैलीमा लिभरपुललाई नयाँ शिखरमा पुर्याएका छन्। कप्तान भर्जिल भान डाइकले भने, “बाहिरबाट कसैले पनि हामीलाई यस वर्ष उपाधि जित्ने सोचेका थिएनन्। तर प्रशिक्षकले असम्भवलाई सम्भव बनाइदिए।”
'एनफिल्डमा भएर साथ दिनु, त्यसैले विशेष हुन्छ'
उत्सवको तयारी बिहानैदेखि सुरु भएको थियो। समर्थकहरू लाइनमा उभिएर स्टेडियम प्रवेशका लागि प्रतिक्षा गर्दै थिए, एनफिल्ड रोडमा रातो रंगको समुद्र फैलिएको थियो। टिकटहरू कालोबजारमा £३,००० सम्ममा बिक्री भइरहेका थिए। मालिक जोन डब्लु हेनरी स्वयं उपस्थित भएर यो ऐतिहासिक दिनको साक्षी बने।
एनफिल्ड र्यापका नील एटकिन्सनले भने, "म आफ्नो विवाह समारोहतर्फ जाँदैछु जस्तो महसुस भएको छ।" अर्की समर्थक अबिगेल रुडकिनले भने, "यो त क्रिसमसको बिहान जस्तै हो। सबैसँग सँगै भएर, एउटै स्थानमा यो खुसी बाँड्न पाउनु नै सबैभन्दा ठूलो कुरा हो।"
'सपना पुरा हुने ऐतिहासिक क्षण'
खेलमा टोटेनहमले शुरुवातमा केही चुनौती दिए पनि, अन्त्यमा लिभरपुलले सहजै ५-१ को विजयी प्रदर्शन गर्यो। मोहमद सलाहले चौथो गोल गरेपछि फोन निकालेर कोपलाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्नु, यो ऐतिहासिक पलको प्रतीक बन्यो।
खेल सकिएपछि स्लटले आफ्ना परिवारतर्फ खुसि व्यक्त गर्दे, समर्थकहरूलाई अभिवादन गरे। अनि आफ्ना सहायकहरूसँग समेटिएर खुसी साटे। अन्ततः, उनले पनि क्लपको प्रसिद्ध ‘फिस्ट पम्प’ शैलीमा समर्थकहरूसँग जश्न मनाए।
स्लटले बीबीसी रेडियो ५ लाइभसँग भने, “सम्पूर्ण दिन अविश्वसनीय रह्यो। समर्थकहरूको आँखामा त्यो उत्साह हेर्दा हामीले जित्नै पर्ने देखिन्थ्यो। अहिले म यो महान क्लबको इतिहासको हिस्सा बनेको छु।”