नेपाल महावाणिज्य दूतावास, कोलकाताको आयोजनामा र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा आज वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा "भारतको हल्दिया र कलकत्ताबाट वीरगञ्जसम्म हुने अन्तर्राष्ट्रिय व्यापार र पारवहनसम्बन्धी समस्याहरू र समाधानका उपायहरू" विषयक छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले आयात-निर्यातका क्षेत्रका व्यवहारिक र नीतिगत समस्याहरूको पहिचान गरी समाधानका उपायहरूको खोजी गर्ने र कलकाताको पोर्ट र हल्दिया पोर्टसँग सम्बन्धित समस्याहरूलाई सहकार्यमा समाधान गर्न बैठक महत्वपूर्ण हुने बताए।
नेपाली महावाणिज्य दूतावास, कोलकाताका महावाणिज्यदूत झक्कप्रसाद आचार्यले दूतावासको कार्यक्षेत्र र प्रदान गरिएका सेवाहरू बारे जानकारी दिए। उनले आयात-निर्यातका क्रममा उद्योगीहरूका समस्याहरूको समाधानका लागि दूतावास सदैव तत्पर रहेको र समन्वयमा केही समय लाग्न सक्ने स्पष्ट पारे।
वीउवासङ्घका कार्यवाहक अध्यक्ष माधव राजपालले आयात-निर्यातको खर्च घटाउँदै नेपालमा आयातित सामानहरूको लागत कम गर्ने महत्त्वमा जोड दिँदै शिपिङ कम्पनीहरूले विभिन्न शुल्कहरूको नाममा असुल गरिरहेका बारे टिप्पणी गरे। उनले शिपिङ कम्पनीहरूको सम्पर्क कार्यालय वीरगञ्जमा स्थापना हुनुपर्ने आवश्यकता पनि औंल्याए।
नेपाल उद्योग वाणिज्य महासङ्घ–मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले विभिन्न निकायहरू बीच समन्वयको महत्त्व र समस्याहरूको समाधानका लागि सेतुको रूपमा काम गर्नुपर्ने आग्रह गरे।
कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्योग र व्यापारको प्रबद्र्धनका लागि जिल्ला प्रशासनको भूमिका बारे जानकारी दिए।
कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछाने, प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गाना, सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बडुवाल, नेपाली महावाणिज्य दूतावास, कलकाताका अधिकारीहरू, नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष तथा पदाधिकारीहरू, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू र उद्योग/व्यवसायीहरूको वृहत उपस्थिति रहेको थियो।