क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र व्यापारिक नीतिहरूलाई चुनौती दिँदै आफ्नो देश कहिल्यै झुक्न नदिने बताएका छन्। मंगलबार बिहान निर्वाचनमा आफ्नो दलको विजयको घोषणा गर्दै उनले विभाजित राष्ट्रलाई एकता कायम राख्ने वाचा गरे।
लिबरल पार्टीका नेता कार्नीले आफ्नो विजय भाषणमा भने, “महिनौंदेखि मैले चेतावनी दिँदै आएको छु, अमेरिका हाम्रो भूमि, स्रोतसाधन, पानी र देश नै चाहन्छ। यी धम्कीहरू खालि कुरा होइनन्। राष्ट्रपति ट्रम्प हामीलाई तोडेर अमेरिका बनाउन चाहन्छन्। तर त्यो कहिल्यै सम्भव हुँदैन।”
अमेरिकासँगको सम्बन्धमा अब ठूलो परिवर्तन आएको उल्लेख गर्दै कर्नेले भने, “अमेरिकी विश्वासघातबाट हामी अब अचम्ममा छैनौं। तर हामीले त्यसबाट पाठ सिक्नैपर्छ, अब हामी आफैंलाई हेर्नुपर्छ र एक-अर्काको ख्याल राख्नुपर्छ।”
लिबरल पार्टी लगातार चौथो कार्यकालका लागि सत्तामा फर्किएको छ। तर कार्नीले बहुमत ल्याए वा संख्यात्मक अल्पमतका साथ गठबन्धन सरकार बनाउनेछन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। सिट संख्या अनुसार बहुमतका लागि १७२ सिट आवश्यक हुन्छ। सीटीभीले लिबरल पार्टीले अल्पमत सरकार बनाउने प्रक्षेपण गरेको छ भने सीबीसीले अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको जनाएको छ।
पीअर पोइलिभरको हार स्वीकार
कन्जर्भेटिभ पार्टीका नेता पीअर पोइलिभरले मंगलबार बिहानै हार स्वीकार गर्दै कार्नीले ‘रिजर थिन’ (संकटपूर्ण) संख्यामा भए पनि सरकार गठन गर्न पर्याप्त सिट जितेको बताएका छन्।
ट्रुडोले जनवरीमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि लोकप्रियता घटेको, जीवनयापन महँगो बनेको र आन्तरिक असन्तोषका कारण पोइलिभरलाई चुनाव जित्ने प्रवल सम्भावित उम्मेदवार मानिएको थियो। तर ट्रम्पको ट्यारिफ र संप्रभुता माथिको खतले चुनावलाई राष्ट्रवादको जनमत संग्रहजस्तै बनाइदियो।
सञ्चार विज्ञ र वित्तविद् राजनीतिमा
६० वर्षीय पूर्व केन्द्रीय बैंक गभर्नर मार्क कर्ने राजनीतिमा आउनुअघि बैंक अफ क्यानडा र बैंक अफ इङ्गल्यान्डका प्रमुख थिए। २००८ को आर्थिक मन्दी र बेलायतको ब्रेक्जिटजस्ता संकट समाधानमा उनको भूमिका महत्वपूर्ण रहेको थियो। चुनाव प्रचारमा उनले भनेका थिए, “म विश्व कसरी चल्छ भन्ने जान्दछु। म विश्वका ठूला कम्पनीका प्रमुखहरूलाई चिन्दछु र बजार कसरी काम गर्छ बुझ्दछु। अब त्यो ज्ञान म क्यानडाको हितमा प्रयोग गर्दैछु।”
अर्थतन्त्र, रोजगारी र नयाँ विकल्प
राष्ट्रपति ट्रम्पले क्यानडाली स्टील, गाडी, औषधि र काठमा २५ प्रतिशत भन्सार लगाएका छन्, जसले क्यानडाको आर्थिक स्थायित्वमा गम्भीर असर पुर्याएको छ। कर्नेले कठिन दिन आउन सक्ने चेतावनी दिँदै आत्मनिर्भरता बढाउने योजना अघि सारेका छन् — “हामी फेरि यो देशमा उत्पादन गर्नेछौं: घर, उद्योग, र स्वच्छ तथा परम्परागत ऊर्जा स्रोतहरू।”
अमेरिकामाथिको निर्भरता घटाउने संकेत
ट्रम्पसँग संवाद गर्न खुला देखिए पनि कर्नेले आफ्नो पहिलो विदेश भ्रमण यूरोपमा गर्दै फ्रान्स र बेलायतसँग सुरक्षा, सैनिक तथा आर्थिक सम्बन्ध थप मजबुत बनाउने चर्चा गरेका छन्। उनले भने, “राष्ट्रपति ट्रम्पसँग भेट हुँदा त्यो दुई स्वतन्त्र राष्ट्रबीचको भविष्यको आर्थिक र सुरक्षात्मक सम्बन्धबारे हुनेछ — र हामीसँग अमेरिका बाहेकका धेरै विकल्प छन्।”
जगमित सिंहको राजीनामा
चुनावमा अर्को ठूलो धक्का नेशनल डेमोक्रेटिक पार्टी (एनडीपी)लाई लागेको छ, जसले पार्टी मान्यता कायम राख्न आवश्यक सिटसमेत जित्न सकेको छैन। एनडीपी नेता जगमित सिंहले आफैंको सिट गुमाएसँगै राजीनाको घोषणा गरेका छन्।
तर सिंहले कार्नीको समर्थन गर्दै भने, “अब उहाँको प्रमुख जिम्मेवारी हो, सबै क्यानडालीको प्रतिनिधित्व गर्नु र राष्ट्रपति ट्रम्पको खतबाट हाम्रो देशको रक्षा गर्नु।”