सामान्यतया १० जूनदेखि सुरु हुने मनसुन यो वर्ष नेपालमा १० दिन ढिलो अर्थात २० जूनदेखि सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पूर्वी भागबाट सुरु भएको मनसुन क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहे पनि देशभर फैलिन भने अझै केही समय लाग्ने छ । जूनदेखि सेप्टेम्बर सम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ ।
नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ । तराईमा प्रचण्ड गर्मी खेपी रहेकालाई यो मनसुनले राहतको सास फेर्ने अवसर प्रदान गर्छ । तर यसका साथसाथै वर्षातसंगै आउने बाढी पहिरोले त्रासको वातावरण सृजना गर्छ । कतिपय स्थानमा वर्षायाम शुरु हुन साथ स्थानीयको मनमा चिसो पस्छ । रातिको निन्द्रा हराम गर्ने गर्छ । तराईका जिल्लाहरुमा नदी टुटेर गाउमा पस्ने तथा शहरमा पानीको निकास नभएका कारण बस्तीहरु डुवानमा पर्ने गरेको देखिन्छ । तर यसलाई नियन्त्रण गर्नका योजना वद्ध तरिकाले अगाडी नढेको देखिन्छ । अहिले स्थानी तह अधिकार सम्पन्न भएको छ भने प्रदेश सरकार गठन भई प्रदेशको लागि काम गरिरहेको छ ।
आफनो प्रदेशको समस्या पहिचान गरि त्यसको समाधानको लागि कदम चाल्नु पर्ने प्रदेश सरकारको दायित्व होईन र तर खोई त यसको लागि अगाडी बढेको प्रदेश सरकार । स्थानीय स्तरमा भएको समस्या समाधानका लागि अव केन्द्रिय सरकारको मुख ताक्ने दिन गएको छ स्थानीय सरकार गठन भएको छ गाउ गाउमा जनप्रनिधिहरु निर्वाचित भएका छन तर खोई तयारी ? आफनो स्थानीय तहमा राहत तथा उद्धारको काम गर्नका लागि एउटा डुगासम्मको व्यवस्थापन नगरेको देखिन्छ । यो आखिर किन ध्यान नगएको होला ? यस्तो हो भने स्थानीय सरकारको भुमिका खोई त ? खोई त स्थानीय स्तरमा पुर्वतयारी ?
कुनै स्थानमा कुनै पनि किसिमको विपत गयो भने पहिलो रेस्पोन्स गर्ने भनेकै समुदाय हो । सवैभन्दा पहिला समुदाय नै त्यहाँ पुग्छ र सहयोग गर्नु पर्छ । तर हामी कहाँ सेना, प्रहरीको मुख ताक्ने चलन बढी छ । हामीलाई अरुले आएर सहयोग गर्नुभन्दा पनि समुदायले विपतको समयमा सहयोग गर्ने दक्ष जन शतिm तयार गर्नु पर्छ । समाजमा चेतनशिल प्राणी भइकन पनि हामी कुनै पनि कुराहरुमा पुर्व तयारी गर्न सक्दैनौ यो ठुलो विडम्बना हो । हामी मानवको सबैभन्दा ठुलो कमजोरी भनेको नै विपत्ति आइसकेपछि बल्ल तात्तिने, चेत आउने र चिन्ता, शोक इत्यादि गर्ने हो ।
प्रकृतिको नियम नै एक वर्षको अवधिमा कहिले जाडो हुन्छ, कहिले गर्मी हुन्छ, कहिले मौसम ठिक्क हुन्छ कहिले पानी पर्छ, बाढी पहिरोको उच्च जोखिम हुन्छ । यी कुराहरु सबै मानिसहरुलाई थाहा छ । उनिहरुलाई जाडो कहिले शुरु हुन्छ ? गर्मी कहिले शुरु हुन्छ ? बर्खायाम कहिले सुरु हुन्छ ? यि सिजनमा जोखिमबाट बच्न के के उपायहरु अबलम्बन गर्न सकिएला भन्ने धेरैथोरै हेक्का पनि छ तर हामी नेपालीहरुको विचित्रको बानी छ कोही जानकारी पाइकन पनि जोखिमको भूमरीमा रुमल्लिन बाध्य छ कोही यस्तो विपत्ति के आइपर्ला र भन्ने हेलचक्रयाइका कारण जानाजान विपत्तिमा परिरहेको देखिन्छ । हाम्रा स्थानीय सरकारहरुको पनि यस तर्फ ध्यान किन जादैन ? किन हामी चुप बसेका छौ ।
अहिले बर्खाको सिजन सुरु हुन लागेको अवस्था छ । यो पानी पर्ने वा बर्खा लाग्ने कुन समयमा हो भन्ने कुरा हिमाल पहाड तराईका सबै जनतालाई थाहा छ । बर्खामा के के समस्या आइलाग्छन भन्ने कुरा नागरिकलाइ भन्दा धेरै त सरकारलाइ थाहा छ । तर पनि हरेक वर्ष पहिरोमा पुरिएर, बाढीले बगाएर , पुल भत्किएर, सडक भत्किएर धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको छ । विपत व्यवस्था कसरी गने ? बाढी पहिरोको जोखिमबाट कसरी जोगिने ? क्षति कसरी न्युनिकरण गर्ने ? यस्ता कुराहरुको बारेमा त बर्खा नलाग्ने नागरिकलाइ जानकारी हुनुपर्ने हो ।
हामीकहाँ ठिक उल्टो परिपाटी छ । जव पहिरोले घरबारी बगाउँछ, मान्छेहरु पुर्छ , बाढीले तराइ क्षेत्र जलमग्न हुन्छ अनि बल्ल नीति कार्यक्रम, कसरी क्षति कम गर्ने भन्ने विषयहरु उठ्न थाल्छन । यी विषयहरु उठेर, छलफल भएर निष्कर्ष निस्कदासम्म धेरै घरहरु बगिसकेका हुन्छन्, धेरै नागरिक मरिसकेका हुन्छन्, तराईका घरहरु जलमग्न भएका हुन्छन । हामी समुदायले विपतको सामना गर्न र रक्षाको लागि तयारी गर्नु पर्छ होईन भने प्रत्येक वर्ष झै ठुलो क्षति व्यवहोर्नु पर्छ ।