नेपाली राजनीतिमा कांग्रेसको प्रभावशाली युवा नेताको रुपमा अजय चौरसिया परिचित नाम हो । पर्साको विन्दवासिनीमाई गाउँपालिका वडा नं. ४ अमरपट्टी टोलमा वि स.२०२१ माघ १५ गते वुवा स्व. डा. हरिकिशोर चौरसिया तथा आमा लक्ष्मी देवी चौरसियको पहिलो पुत्र हुन् । माइलो भाई. प्रमोद चौरसिया डाक्टर हुन भने सबैभन्दा कान्छो भाइ बिनोद चौरसिया ईन्जिनियर छन् । २०३७ सालमा माईस्थान विद्यापिठ स्कुलबाट एस.एल.सी उतिर्ण गरी ग्रेजुएशन सम्मको अध्ययन पुरा गरेका चौरसिया विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहेको बताए । सुुख दुःख, र समस्यामा सधै जनताको नजिक रही सक्रिय भूमिका निर्वाह गरेकै कारण २०५६ सालमा सांसदमा निर्वाचित भई २०५८ सालमा सहायक स्थानीय विकासमन्त्री बनी सकेका छन् । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा उनी निर्वाचित भएका थिए । राजनीतिमा लामो समयदेखि क्रियाशिल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री चौरसियासंग मध्य नेपाल लागीको गरिएको विशेष कुराकानी :
१) वर्तमान मुलुकको राजनीति अवस्थालाई कसरी नियाली रहनु भएको छ ?
मुलुकमा लोकतान्त्रिक संविधान भए पनि लोकतान्त्रिक संविधानलाई सिध्याएर एकदलीय कम्युनिष्ट शासन व्यवस्था लादने प्रयास भइरहेको छ । देशमा कानुन र व्यवस्थाको राम्रो वातावरण बनाउनुको सट्टा जनतालाई विभिन्न करको भारले च्याप्दै दिनहँु भ्रष्टाचार मौलाउदै छ । हिंसा, अराजकता, दण्डहिनतामा घटेको छैन । साथै लोकतन्त्रको सबै मुल्य र मान्यतालाई भत्काउने काम अहिलेको सरकारले गरिरहेको छ ।
माओवादी र एमाले मिलेर बनेको नेकपा र उपेन्द्र यादवको पार्टीबाट जनताहरुले धेरै आपेक्षा राखेका थिए । तर जनताको अपेक्षा पूरा हुने तर्फ वर्तमान सरकारले काम गर्न सकेको छैन । उपेन्द्रजीको तत्कालिन फोरम नेपाल र राजपाले मधेश आन्दोलनमा लागेर मृत्यु हुने, शहिद हुनेलाई ५० लाख दिन्छौ भनेर झुठा आवश्वासन दिएर जनतालाई उचालेर आन्दोलनमा होमी शहिद बनाए । जनताको बलिदानलाई खेर फाल्दै अहिले सत्ताका भोग गरिरहेका छन् । कांग्रेसको पालामा सहिदलाई दिएको व्यवस्थाभन्दा एक पैसा पनि बढाएर दिएका छैनन् । जबकी प्रदेश नम्बर २ मा फोरम र राजपाकै सरकार छ । जनताको मन अनुकुल काम न त प्रदेश सरकारले गरिरहेको छ न संघीय सरकारले नै । मुलुकभरी नै अहिले भ्रष्टाचारको बिगबिगी छ । मालापोत लगायत अरु जनसरोकारको ठाउँमा जनताबाट खुलमखुल्ला पैसा लिईरहेको अवस्था छ ।
२) नेपाली कांग्रेसको सरकार भएको बेला पनि त भ्रष्टाचार चरमसीमामा थियो नि ?
नेपाली कांग्रेसको सरकारमा भ्रष्टाचार भएको ठाउँमा सम्बन्धित निकायले छानविन गरि कार्वाही पनि गरेका छन् । तर यो सरकारको पालमा चिनी काण्डमा ६८/७० करोडको भ्रष्टाचार, सुन काण्ड, ६ अर्वभन्दा बढि वाईडबडी खरिदमा भ्रष्टाचार भएको छ । सांसदको सार्वजनिक लेखा समितिले कार्वाही गर्ने निर्देशन दिएको छ, । तर सरकार कार्वाही गर्न आँट गर्दैन । निर्माला पन्तको जस्ता चेलीबेटीहहरुको बलात्कार र हत्या प्रकरण सबै उस्तै छन् । यहाँसम्म कि निर्माला बलात्कार हत्या काण्डको सबुत भेट्ने ठाउँको सिसि क्यामेराको फुटेजहरु मेटाइएको छ ।
आफ्नो देशको छोरीलाई बलात्कार गर्ने अपराधीलाई कार्वाही गर्न नसक्ने सरकार अरु कानुन व्यवस्थालाई व्यवस्थापन गरेको छु भने कल्पना गर्न सक्छ र ? नेपाली कांग्रेसको सरकारमा कांग्रेसको नेतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्वाही गरेको ईतिहास छ । तर नेकपाकोे सरकारमा सानो सुब्बा र खरिदार स्तरका कर्मचारीलाई मात्र कार्वाही भएको छ ।
३) नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम यहाँलाई कस्तो लाग्यो ?
सरकारले ल्याएको निती तथा कार्यक्रम पनि जनताको हक हितमा छैन । रोटी निम्न वर्ग र आम जनताको भोजन हो । यसमा समेत सरकारले भ्याट लगाएको छ । ढुवानी गर्ने ट्रक भाडामा पनि सरकारले कर लगाएको छ । डिजल, पेट्रोलमा लागेका भ्याटलाई पनि विखण्डन गर्ने व्यवस्था थियो तर त्यसमा पनि सरकारले बढावा दिइरहेको छ । जसले दिनहु मंहगी बढ्दै गईरहेको छ । बढ्दो मंहगीका कारण दैनिकी गरि खाने जनता समेत यसको सिकार भएका छन् । देशमा शान्ति, शुसासनलाई समाप्त पार्दै वर्तमान सरकारले जनताले तिर्नै नसक्ने विभिन्न करको भारमा च्यापिरहेको छ । सरकारले ठुल–ठुला गफ दिई मुलुकलाई कुन दिशामा लाने हो भन्ने कुरामा सरकार दृष्टिविहिन भई आफै अन्योलमा छ ।
४) सरकारको नीति ठिक नभए तपाईको विचारमा चाहि कस्तो नीति तथा कार्यक्रम हुनु पर्छ ?
जनताको हित विपरित निती तथा कार्यक्रम आएको छ । प्रेसलाई दमन गर्नको लागी प्रेस काउन्सिल विधेयक ल्याएको छ । लोकतन्त्रको चौथो अंग भएको प्रेस काउन्सिललाई पनि सरकारको विरुद्व सामाचार नै लेख्न नसक्ने गरी नियन्यत्रण गर्न खोजिएको छ । स्वतन्त्र र संवैधानिक आयोग भएका मानव अधिकार आयोगलाई पनि सरकारको अधिनमा ल्याएर सरकार प्रति जवाफदेहि बनाउने किसिमको विधेयक ल्याइएको छ । जसले देशको लोकतन्त्रमा ठुलो खतरा पु¥याउँछ ।
लोकतान्त्रिक मुलुकहरुमा सुरक्षा परिषद्को निर्णयबाट मन्त्रालयको सिफारिसमा राष्ट्रिपतिले आवश्यक परेको बेला सेना परिचालन गर्ने व्यवस्था छ । त्यसलाई पनि वर्तमान सरकारले प्रधानमन्त्रीको मातहतमा ल्याउने कोशिस गर्दैछ । नीजि गुठी र सम्पतिलाई पनि सरकारको मातहतमा ल्याउने मौलिक अधिकारको विरुद्व सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको छ । तसर्थः लोकतान्त्रिक व्यवस्थाको मापदण्डलाई भत्काएर एक दलको कम्युनिष्ट शासन पद्धति लाद्ने प्रयासमा वर्तमान सरकार छ ।
५) नीति तथा कार्यक्रममा तपाईलाई चित बुझ्दो पक्ष कुन हो ?
कुनै पनि पक्ष चित बुझ्दो छैन । सरकारले गरिरहेकोे सबै काम मौलिक अधिकारका विरुद्ध छन् ।
६) विकासका ठूल–ठूला गफ सुनिने गरिन्छ । नेपाली कांग्रेसले कल्पना गरेको विकासको परिकल्पना कस्तो हो ?
नेपालको विकास निर्माणको जग बसाउने काम नेपाली कांग्रेस कै सरकारको पालामा भएको हो । निजी सम्पति बेच्दा र किन्दा कहिले पनि सरकारले कर लगाएको थिएन । तर मान्छेले आफ्नो छोराछेरीलाई पढाउन, बिहे गर्न, आफ्नो जहान परिवारलाई औषधी उपचारको लागी पनि जग्गा विक्रि गर्ने र खरिद गर्ने माथि पनि सरकारले कर लगाएको छ । जनतालाई अनावश्यक रुपमा सास्ती दिने काम नेपाली कांग्रेसको सरकारको समयमा त भएको थिएन ।
अहिले मालपोतमा रसिद काट्नेदेखि रेजिष्टे«शन पास गर्ने कर्मचारीहरुको समेत अभाव छ । व्यापक लापर्वाही र चरम भ्रष्टाचार छ । दिनहुँ अपराधिक क्रियाक्लाप बढिरहेको रहेको छ । नेकपाको सरकारमा मुलुकले भ्रष्टाचारको चरम सिमा नाघि सकेको छ । मुलुकमा जति पनि उद्योगधन्दा, विश्वविद्यालय, पक्की सडक, बिजुली सयकडौ बैक, इन्जिनियरिङ्ग कलेज, आयो यो सबै नेपाली कांग्रेसको देन हो नि ।
तसर्थः नेपाल कृषि प्रधान देश भएकोले नेपाललाई कृषिसंग सम्बन्धी उद्योगद्यन्धाको विकास गरि दैनिक बस्तुको उत्पादनमा नेपाललाई कसरी आत्म निर्भर बनाई मुलुकमा शुसान, भंं्रष्टाचारमुक्त समाज निर्माण गरि मुलुकलाई दुर्गामी विकासको दिशातर्फ उन्मुख गराउने काम नेपाली कांग्रेसले गर्दै आएको छ र गरि पनि रहेको छ ।
७) नेपाली कांग्रेसले अहिले मुलुकभरी नै जागरण अभियान संचालन गरिरहेको छ । यसले कार्यकर्ता तथा आम नेतृत्व वर्गका नेतालाई के फाइदा ?
यो जागरण अभियान नेपालको ७७ वटै जिल्लामा चलाइएको छ । जसमा पहिलो चरणको एक महिने कार्यक्रम समाप्त भएको छ । भदौ देखि दोस्रो चरणको कार्यक्रम शुरु हुन्छ । यो अभियानले पार्टीलाई वडादेखि जिल्ला र जिल्लादेखि केन्द्रसम्म संगठित गरेर संगठन विस्तार गर्दै एक आपसमा भएको मदभेद, मनमुटावलाइ मेटाउँदै आम जनतालाई सचेत र सुचित गराउने काम गर्छ । यहि गतिले सरकार अगाडी बढ्यो भने मुलुकमा कुनै पनि बेला कम्युनिष्ट शासन पद्धति, कम्युनिष्ट शासन व्यवस्था लागु गराउने प्रपंच हुन सक्छ । यो कुरालाई मनन् गरी नेपाली कांग्रेसले आफ्नो तयारी सुरु गर्दैछ । यस अभियानले कांग्रेसलाई मात्र नभई समग्रमा सबै नेपालीलाई फाइदा हुन्छ ।
८) तपाई मन्त्री पनि बन्नु भएको समयमा पनि पर्सावासीको लागी खासै काम गर्नु भएन भन्ने आरोप छ नि ?
२०५६ सालमा सांसद भएको बेला मेरो क्षेत्रको ७० प्रतिशत ठाउँमा बिजुली थिएन । बैरियादेखि बिरुवागु्ठी, बसडिल्वा, सखुवा प्रसौनी, भौराटार, डोकैला बहुअरी, बागेश्वरी तित्रौना, मधुवन मथवल लगायत सबै ठाउँमा मेरै पालामा विद्युतिकरण भएको हो । सांसद भएको बेला बाटोघाटोको साथै धेरै नदीहरुमा पुल निर्माण जस्ता विकासको काम पर्याप्त गरेको छु । म सांसद भएको बेला विकास निर्माणको लागी जम्मा ५ लाख रुपैया पाउथें, पछि १० लाख गरियो । म २०६४ सालमा सांसद रहदासम्म १० लाखसम्म मात्रै रहयो । तर अहिलेका सांसद ४/४ करोड रुपैैया पाइरहेका छन् । आगामी आर्थिक वर्षमा ६ करोडसम्म पाउँनेवाला छन् । प्रदेश सभाका सांसद समेत २ करोडको बजेट पाउँदैछन् । तर यिनीहरुले के गरेका छन् त ? अहिले पनि मेरो क्षेत्रमा मैले गरेको विकास निर्माणको कार्य जति नै सिमित छ । अहिलेका सांसदहरु त जितेपछि क्षेत्रमा मुख देखाउन पनि गएका छैनन् । मैले आफ्नो कार्यकालमा क्षेत्रको हरेक ठाउँमा फराकिलोे बाटोघाटोको साथै विभिन्न ठाउँमा सामुदायिक स्कुल, उप–स्वास्थय चौकी पनि संचालनमा ल्याए तर म दुई पटक निर्वाचनमा हारेको बेला जितेका सांसदहरुले के के गरेका छन ?
९) नेपाली कांग्रेसले युवावर्गलाई नेतृत्व तहमा नल्याएकै कारण पार्टी कमजोर भएको भने आरोप छ नि ?
अहिलेका मेयर, उप–मेयर, प्रदेश सभाका सांसद सबै त युवाहरु नै छन् नी ? प्रदेश सभामा लड्ने अधिकांश युवाहरु नै छन् नि । नेपाली कांग्रेस सबै बर्ग समुदायको लागी बनेको पार्टी हो । अरु पार्टीहरुभन्दा बढि युवाहरुको सक्रियता र सहभागिता नेपाली कांग्रेसमा छ ।
१०) पार्टीले नेतृत्व नदिएको भन्दै पछिल्लोे समयमा पार्टीमा सक्रिय धेरै युवाहरु पार्टीबाट अलग भएको चर्चा छ नि ?
राजनीतिमा सक्रियता महत्वपूर्ण कुरा हो । युवाहरु कसैले कसैलाई ठाउँ त छोड्दैन्न नि । जसले सबैभन्दा बढि जनताको सेवा, सुख, दुःखमा साथ दिन्छ, त्यसलाई त जनताले पनि त मुल्याङ्कन गर्छन । नेपाली कांग्रेसमा धैर्यता राख्ने युवाहरुले ठाउँ पाएर सांसद र मन्त्री पनि भएका छन् ।
११) युवा वर्गलाई नेतृत्व तहमा ल्याउन यहाँको भूमिका कस्तो हुनेछ ?
दिनरात हामी युवावर्गहरुकै लागी त काम गरिरहेका छौ नि ? हामी बुढो हौ ? हामीपछि जति पनि प्रदेश सभाका सांसद, मेयर उपमेयर हुुनुहुन्छ, सबै युवाहरु नै हो नि ? अहिले स्थानीय तहदेखि जिल्ला र केन्द्रसम्म अधिकांश युवा वर्गहरुलाई नै समावेश गरिएको छ । हामीपछि देशको बागडोर समाल्ने युवावर्गले नै हो । नेपाली कांग्रेसले नै युवाहरुलाई हरेक क्षेत्रमा समानजनक समावेश गरेको छ ।
१२) तर नेपाली कांग्रेसमा ५०/६० वर्षको उमेरमा गएर पनि आफूलाई युवा नेता नै कहलाउने गरेका छन् ?
जनताको बिचमा सक्रिय रुपमा काम गर्ने नेतालाई मात्र पार्टीले अवसर दिएको छ । जुन नेताहरु सधै पार्टीको बिरुद्घमा गएर अरु पार्टीलाई भोट दिएका छन् वा अवसर नपाएर अरु पार्टीमा गएछन् । उनीहरुको हविगत हेर्नुस्, कहाँ छ ?
१३) यहा“को क्षेत्र यतिका वर्षसम्म विकास हुन नसक्नुको कारण के पाउनु भएको छ ?
अरु क्षेत्रभन्दा त राम्रै विकास भएको छ । सरकारको बजेट मधेसमा सधै कम पर्नुको कारण पनि जनचाहना अनुसार पर्याप्त विकास नभएको होला । म त दुई चुनावमा पराजित भए । अहिले र यो भन्दा अगाडी भएको सांसदहरुसंग सोध्नु पर्ने हो नि । जितपुरभन्दा पश्चिमको जनता रोडको सबै पुल र पिच सडक मैले नै बनाएको हो । तिलावे पुलबाट पकहासम्मको पिचरोड पनि मैले नै गराएको हो । बहुदरमाई नगरपालिकाको सहयोगमा बन्न लागेको बिन्दावासिनीदेखि डोकैला बहुअरीसम्म पिचरोडलाई पनि मैले नै सिलन्यास गरेको छु । मेरो पालामा मेरो क्षेत्रको हरेक ठाउँमा हरेक विकास निर्माणको काम भएको थियो । तर म हारेपछि मैले गरेको काम यथावत नै छ, त्योभन्दा एक इन्च पनि बढ्न सकेन । त्यो त २०७० साल र अहिले जित्ने सांसदले नि जवाफदेहि हुनुपर्ने हो नि । अहिले त जितेका सांसद क्षेत्र मै गएको छैनन् । खै कहाँ हराई सकेका छन् । अहिलेका सांसदले पाएको रकमबाट उपभोगक्ता समिति बनाएर कार्यकर्ता पोस्ने काम मात्र भईरहेको छ ।
१४) जिल्लामा नेपाली कांग्रेसले जनताभन्दा पनि पार्टीको कार्यकर्ताको लागी मात्रै काम गरेको आरोप लाग्ने गरेको छन् नि ?
यो विपक्षीले लगाउने झुठो आरोप मात्रै हो । पर्सा जिल्लामा तिलावे पुल, मर्लहियाको पुल, नैरङ्गीया, गाद, दुताहा, सिकटा जस्ता धेरै पुलहरुको साथै, सडक, बिजुली स्वास्थ्य चौकी, डूाईपोर्ट जस्ता प्रायः सबै काम नेपाली कांग्रेसले नै गरेको हो । नेकपा र अरु पार्टीले के गरेका छन् ? हामी सांसद भएको बेला गरेका काम र अहिलेका सांसदहरुले गरेको कामको तुलना गर्नुस्, सबै कुरा छर्लङ्गै हुन्छ । अहिलेको समयमा १ दिन मोटो पानी प¥यो भने तिलावेपुलको डाईभर्सन भत्किन्छ । सदरमुकाम वीरगंज आउने जाने पर्साको सम्पर्कै टुट्छ । ति सांसदहरुलाई सोधे हुन्छ नि ? बाटोघाटोको र पुलको जिर्ण अवस्थाले दिनहु पर्सावासी धुलो खान बाध्य भएका छन् । स्वास्थ्यमा पनि त्यतिकै असर परिरहेको छ ।
१५) अहिलेको स्थानीय सरकारको कामकाजबाट कतिको सन्तुष्ट हुनुहन्छ ?
पछिल्लो संविधान सभाले जुन किसिमको स्थानीय सरकारको संरचना बनाएको छ, त्यसको पटक पटक मैले संचार माध्यमबाट बिरोध गर्दै आईरहेको छु । गाउँपालिका हुने स्थिती नभएको ठाउँलाई नगरपालिका र महानगरपालिका घोषणा गर्नु पर्ने आवश्यकता नै थिएन । जुन जनप्रतिनीधि स्वःस्पुर्त सेवा गर्न तयार थिए, उनीहरुलाई तलब सुविधा दिने आवश्यकता थिएन । तिन तहको सरकार बनेपनि स्थनीय निकायमा विकास निर्माणको काम निति नियमपूर्वक होस भने संघीय सरकारले चाहेको छैन् ।
विकास निर्माणको काम हनुे समयमा नै कुनै स्थानीय तहमा कहिले कार्याकारी प्रमुख सरुवा गर्ने त कहिले लेखापालको । कुनै न कुनै वाहानामा संघीय सरकारले स्थानीय सरकारलाई असहयोग गरि बजेट फ्रिज गराउने कार्यतर्फ लागेको छ । र प्रदेश सरकारले जनताले आपेक्षा गरे अनुसार काम गर्न सकेको छैनन् । केन्द्र सरकारले त देशको संघीय शासन पद्धती नै फेल गर्नमा लागेको छ । संसदीय लोकतान्त्रिक व्यवस्थालाई पनि फेल गर्ने प्रपन्च रचिरहेको छ । नेपालको संसदीय प्रणलीको संविधान भएको अहिलको सरकार छ । अहिलेको सरकार कम्युष्टि पार्टीको सरकार भएपनि कम्युनिष्ट शासन पद्धती र कम्युनिष्ट व्यवस्था होईन । तर सरकारलाई दुईतिहाईको दम्भ भएकोले कम्युनिष्टको सरकार मात्र नभई कम्युनिष्ट शासन र पद्धतीको सरकार हु जस्तो वर्तमान सरकारलाई लागेको छ । त्यसकारण ओली र प्रचण्डले लोकतान्त्रिक मुल्य र मान्यता भएका प्रत्येक पिलडलाई भत्काउने कोशिस गरिरहेका छन् ।
१६) स्थानीय सरकारले के के गरिदिदाँ जनतालाई राहत हुने थियो ?
स्थानीय, प्रदेश र संघीय तिनै सरकारले एकअर्कासंग समन्वय गरि शिक्षा, स्वास्थ र सडकलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्छ । शैक्षिक क्षेत्र बलियो नभएसम्म कुनै पनि क्षेत्रको विकास हुन सक्दैन । गाउँका प्रत्येक टोल टोलमा शिक्षाको राम्रो व्यवस्थापन गर्नु पर्छ । स्थानीय सरकारको लापर्वाहीका कारण शिक्षाको स्तर खस्किदै गईरहेको छ । शिक्षा र स्वास्थमा सुधार आयो भने सम्मुन्नत समाज त आफै निर्माण हुन्छ । कृषि शिक्षा, स्वास्थ, सडक, सिचाई जस्ता क्षेत्रमा आम जनतालाई सेवा सुविधा पु¥याई शिक्षित र समुन्नत समाज निर्माण हुन सक्ने स्थानीय सरकारले बजेट बिनियोजन गर्नु पर्छ ।
१७) प्रदेश नम्बर २ को सरकारले ल्याएको मदर्शा शिक्षा बोर्डलाई यहाँले कुन रुपमा लिनुभएको छ ?
मदार्शा शिक्षा बोर्डको त आवश्यकता नै छैन । अबको आउने समयमा जुन किसिमको शिक्षा चाहिन्छ । त्यस अनुसारको शिक्षा व्यवस्थापन प्रदेश सरकारले गरेको छैन । सरकारले मदर्शा शिक्षामा दिएको सेवा सुविधा नै पर्याप्त छ । अब प्रदेश सरकारले मदर्शा शिक्षा बोर्डको नाममा विवाद फसाउने काम मात्र गरिरहेको छ । देशको विकास गर्नको लागी सबै समुदायलाई समेटेर अगाडी बढ्नै पर्छ । मेरै धर्म र मेरै जातिको मेरो किसिमले मात्र शिक्षा हुनुपर्छ भने भान कसैलाई पनि हुनु हुदैन । देशमा एकता र राष्ट्रियताको भावनाको विकासको पाठ सिकाउने कोर्षहरु अब थपिनु पर्छ । जातियभन्दा पनि शिक्षामा सम्रगताको नीति अबलम्बन गर्नुपर्छ ।
१८) स्थानीय सरकारले युवाहरु आफ्नै गाउँठाउँमा बसेर रोजगार पाउने नीति कस्तो ल्याउनु पर्छ ?
केन्द्र सरकारले नै युवाहरुलाई स्वरोजगार बनाउन व्यवस्थित किसिमले सिप, तालिम र शिक्षाको विकास गर्न सकेको छैन । युवालाई रोजगार दिने नीति नै संघीय सरकारले बनाएको छैन । मुखौटे गफ दिने काम मात्र गरेको छ । नेपालका आई.ए., बिए. गरेका युवाहर बिदेशमा गएर लेबरको काम गर्छन् । सरकारले प्रत्येक विद्यालयमा स्थानीय स्तरमै प्राविधिक शिक्षाको विकास गरिदियो भने आफ्नै गाउँठाउँमा रोजगार पाउँथे । विदेशमा गएर पनि राम्रो आम्दनी गर्थे । तर सरकारको गैर जिम्मेवारीका कारण महिने पिछे विदेशबाट युवाहरुको लास आइरहन्छ । सरकार मुखौटे कुरा त धेरै गर्छ । तर व्यवहारमा १ प्रतिशत पनि पुरा गरेको छैन । जुन काम प्रदेश र संघीय सरकारले गर्न सकेन त्यो काम स्थानीय सरकारले के गर्ला ? तसर्थः स्थानीय सरकारले पनि युवावर्गलाई रोजगार दिलाउन विभिन्न किसिमका सिपमूलक तालिम, स्थानीय स्तरमै निःशुल्क लोकसेवा आयोगको कक्षा संचलान, व्यापार, व्यवसाय गर्नको लागी लगानी गरि कमाउने बातावरण पनि बनाउनु पर्छ ।