विश्वमा जस्तै नेपालमा पनि विभिन्न कारणले उदासीनता अर्थात् डिप्रेसनका रोगी बढेको चिकित्सकले बताएका छन्। अझै पनि मानसिक समस्यालाई लुकाएर राख्ने उपचारमा नजाने कारणले गम्भीर खालका घटनामा वृद्धि भएको छ । यसबारेमा सबैले खुलेर कुरा गर्नुपर्ने र उदासीनता कमजोरी नभई एउटा रोग भएकाले उपचार गरे निको हुने बताइएको छ । सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा करिब तीन करोड मानिस उदासीनताबाट पीडित छन् । सन् २००५ यता दश वर्षका अवधिमा सो रोगका बिरामीको संख्या १८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । चिकित्सकहरुको अनुसार विश्वमा १५ वर्षदेखि २९ वर्ष उमेरका मानिसको मृत्युको प्रमुख कारण उदासीनताबाट आत्महत्या देखिएको छ ।
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा भरत गोईत उसदासीनताबारे बुझेर समयमै उपचार गरेमा रोग सजिलै रोकथाम गर्न सकिने बताउँछन्। उनले जीवनशैलीलाई सन्तुलन राख्ने, शारीरिक व्यायाम गर्ने र सराकारात्मक सोच राखेमा यसबाट बच्न सकिने बताए।
डा गोईतले भने, मानसिक रुपमा हतास हुने समस्या उदासीनता हो। मनमा जागृत भएको हीनभावना बढ्दै गएमा नकारात्मक सोच विकास भएर आत्महत्या गर्नेसम्मका घटना हुन सक्छ । अनावश्यक सोचाइ आउने, दिक्दारी लाग्ने, कुनै पनि चिजमा चाख नलाग्ने, खुसी अनुभव नहुने र थकित महसुस भइरहने भएमा उदासीनता रोग हुन सक्छ । नेपालमा एकदेखि दुई प्रतिशत जनतामा कडा खालको मानसिक रोग र पाँच प्रतिशतमा मध्यम खालको मानसिक रोग भएको अनुमान छ । उदासीनताबाट सबैभन्दा धेरै महिला पीडित भएको पाइएको छ । आफूमा भएको समस्यालाई अरुसामु व्यक्त गर्न नसक्ने र व्यक्त गरिहाले पनि परिवार, समाजले सहज रुपमा नबुझ्ने भएकाले रोग लुकेरै रहने गरेको छन ।
उदासीनता एक प्रकारको मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै पनि कामप्रति अनिच्छा हुने, निराश हुने तथा शारीरिकरुपमा शक्ति ह्रास भएको महसुस हुने गर्छ ।
उदासीनताले दैनिक जीवनमा नकारात्मक सोच पैदा गराउँछ । सामाजिक एवं पारिवारिक द्वन्द्वले पैदा गरेको घटनाले लामो समयसम्म नकारात्मक लक्षण देखिने गर्छ । एकातिर परिवारको सदस्य गुम्ने र आर्थिक भार थपिने पीडा हुन्छ । चरम शारीरिक तथा मानसिक यातना पाएको अवस्था हुन्छ । महिलाहरुले बलात्कारको शिकार बन्नुपरेको हुन सक्छ । उदासीनता मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो । जसमा प्रभावित व्यक्तिले करिब दुई सातासम्म लगातार आफू उदास भएको महशुस गर्छ । इच्छा, जोश, जाँगर गुमाउनुका साथै शरीरमा शक्ति नै नभएको महसुस गर्छ । यस्तो अवस्थाले उसको दैनिक क्रियाकलापमा असर पार्छ ।
मध्यम तथा गम्भीर उदासीनता भएको व्यक्तिमा शारीरिक शिकायतको समस्या पनि देखिन सक्छ । त्यसैले उदासीनता शारीरिक समस्यासँग पनि सम्बन्धित छ । यसलाई समयमै व्यवस्थापन गर्न नसके आत्महत्याजस्तो जोखिम बढ्नुको साथै अरु गम्भीर समस्याहरु पनि निम्तन सक्छ । तथ्याङ्कले सबै प्रकारका एकल महिलाहरुमा आत्महत्याको जोखिम बढी हुने देखाउँछ । व्यक्तिमा के–कस्ता लक्षण देखिएका छन । त्यसमा ध्यान दिन जरुरी छ । दुखी हुने, दैनिक क्रियाकलापमा रुचि नहुने जस्ता लक्षण देखिएमा उदासीनता भएको हुन सक्छ । यस्तो समस्या दुई हप्तासम्म दोहोरिइ रहेमा उदासीनताको सम्भावना प्रवल रहन्छ । यस्ता लक्षणले व्यक्तिको दैनिक क्रियाकलापमा असर र्पुयाएको छ भने उदासीनता हुन सक्छ । उदासीनताका लक्षण शारीरिक, भावनात्मक, विचारात्मक र व्यवहारगत हुन्छन् । शारीरिक लक्षणमा कमजोरी, शरीर दुख्ने, सुत्न कठिनाइ हुने, खानाप्रति रुचि घट्ने, ढुकढुकी बढ्ने, निस्सासिएको महसुस हुने, छाती दुख्ने, रिङ्गटा लाग्ने, काँप्ने, जिउभरि सियोले घोचेजस्तो महसुस हुने, तौल घट्दै जाने, थाकेर शरीरमा बल नभएको महसुस हुने इत्यादि हुन्छ । विचारात्मक लक्षणमा निराशापन, निर्णय लिन नसक्ने, ध्यान केन्द्रित गर्न नसक्ने, आफूलाई मूल्यहीन ठान्ने र हानी र्पुयार्उने जस्तै– आत्महत्याको विचार आउने, भविश्यप्रतिको चिन्ता वा नकारात्मक दृष्टिकोण आउने आदि हुन्छ ।
व्यवहारगत समस्यामा सामाजिक अन्तक्र्रियाहरुबाट टाढिने, जिम्मेवारीहरु बहन गर्न नसक्ने, मनोरञ्जनका क्रियाकलापहरुबाट टाढिने, अत्यधिक मादक पदार्थ सेवन गर्ने, विनाकारण रोइरहने, पहिले खुशी हुने कुरामा खुशी हुन नसक्ने तथा आफ्नो हेरविचार नगर्ने आदि लक्षणहरु देखिन्छन् । उदासीनतालाई पहिचान गर्नका लागि व्यक्तिको व्यवहार, उसमा आइरहने र दोहोरिरहने सोचाइ, भावना एवं शारीरिक अवस्थाका बारेमा गहिराइमा अध्ययन गर्न जरुरी छ । मुख्यतः उदासीनता भएको व्यक्तिमा आफ्नो जीवन–सम्बन्धका बारेमा नकारात्मक सोच आउने गर्छ । उसले आफ्नो जीवनलाई मूल्यहीन ठान्छ । सामान्यतया यस्ता सोचहरु दोहोरिरहने, आत्महत्याको प्रयास गर्ने तथा दैनिक क्रियाकलापमा नकारात्मक प्रभावले प्रष्टरुपमा उदासीनता हो भनेर किटान गर्न सकिन्छ । त्यसको प्रत्यक्ष मारमा बढीजसो महिलाहरु पर्न पुगे तर, हामी कहाँ हालसम्म पनि दक्ष जनशक्तिको उत्पादनसँगै जस्तै प्राथमिक, निम्न माध्यामिक, माध्यामिक तथा उच्च शिक्षा अध्ययनसम्म पनि मानसिक स्वास्थ्यको पाठयक्रम नबनाइनु, उपत्यकाको सीमित क्याम्पसमा मात्रै मनोसामाजिक विषयको अध्यापन गराइनु, द्वन्द्वले थिलोथिलो भएका ब्यक्तिहरुको निम्ति शान्ति प्रक्रियाको यतिका बर्षसम्म पनि मनोपरामर्शको सेवा नदिनुले यसप्रति राज्य गम्भीर भएको देखिँदैन ।
सीमित रुपमा रहेका मनोविदहरुलाई पनि राज्यले संरक्षण गर्न नसक्नुले मानसिक समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको मान्न सकिन्छ । किनकि यो समस्या वंशाणुगत गुणका रुपमा आफ्ना सन्तानमा पनि सर्ने सम्भावना हुन्छ, जुन देश विकास र समृद्धिका लागि घातक हुनेछ । त्यसर्थ, सरोकारवाला पक्षहरुले मानसिक समस्याबारे समयमै सजगता अपनाउने कि ?