घरछेउको सिर्सिया नदीको पानीको कारणले हिरा राउत कुर्मीको पेटको आन्द्रामा घाउ भई क्यान्सर भएको थाहा पाउँदा धेरै ढिला भैसकेको थियो । उद्योगबाट निस्केको विषबराबरको रसायन मिसिएकोे पानीले सिंचाई गरेर खेती गर्ने कुर्मी बर्षौ थलिएर दुई बर्ष अघि बिते । कुर्मीकी ६७ बर्षीया श्रीमति वैदामी देवी कुर्मीले घरछेउमै मध्यनेपालसँग कुरा गर्दै २०७७ साल चैतको अन्तिम साता भनिन्, ‘भारतको मोतिहारीमा श्रीमान्को उपचार गर्न जाँदा डाक्टरले प्रदूषित पानीको कारणले तथा किटनाशक औषधीकोे प्रोयोगको कारणले क्यान्सर भएको हुन सक्ने कुरा बताएका थिए ।’
केही दशकअघिसम्म पवित्र मानिने नदीको पानी आजभोलि वैदामीले खेतबारीमा प्रयोग गर्नसमेत छाडेकी छिन् । फोहोर पानीले गर्दा पुस्तौनी खेती छाडेर वीरगन्ज महानगरपालिका वार्ड नं १८ बस्ने कुर्मी परिवारले सिसौको विरुवा रोपेका छन् । ‘सिर्सियाको पानीले खेती गर्दा छालाको रोग मात्र नभएर पेट, आन्द्रा, फोक्सोमा पनि रोग लाग्ने कुरा डाक्टरले बताएपछि बल्ल हाम्र्रो आँखा खुल्यो,’ लामो सुस्केरा हाल्दै वैदामीले बेलिविस्तार लगाइन् । उनीहरुले त्यही खेतमा फलाएको तरकारी बेचेर गुजारा गर्ने गरेकोमा अहिले उनको छोराको दैनिक ज्याला मजदुरीले परिवार धानेको छ ।
कुर्मी परिवार मात्रै एक्लो पीडित होइनन् सिर्सियाको प्रदूषित पानीबाट । वीरगंज पथलैयाका औद्योगिक कोरिडोरका दर्जनौ उद्योगले प्रशोधन नगरी नदीमा मानवस्वास्थ्यलाई हानि पुग्ने फोहोर फालेका छन् । नदी आसपास बसोवास गर्ने हजारौ परिवारको स्वास्थ्यमा गम्भीर असर परेको सहजै अनुमान गर्न सकिन्छ ।
बैदामीका छिमेकी सबैले बुझेका छन् घरछेउमै विस्तारै बग्ने कालो लेदो मिसिएको पानी र सेतो फिंज देखिने नदीको पानी कति हानिकारक छ भनेर । हेर्दा यो नदीजस्तो पनि लाग्दैन । यहाँ आउने जोकोही नयाँ मान्छे नाक नथुनी हिड्नै सक्दैनन् । तर यहाँका बासिन्दाहरु हावाको दुर्गन्ध हानिकारक भएपनि घरको आँगनमा बसेर खाना खाइरहेका देखिन्छन् । केटाकेटी झन् त्यही नदी छेउमै खेलिरहेका थिए ।
यो सबैको कारण हो पथलैयाँ वीरगंज क्षेत्रमा पर्ने दर्जनौं उद्योगले प्रशोधनविना नदीमा फाल्ने मानवस्वास्थ्यलाई हानि गर्ने फोहोर । पथलैयाको रामवनबाट आएको स्वच्छ सिर्सियामा सिमरादेखिकै उद्योगहरुले सोझै नदीमा फोहोर फालेदेखि भवनीपुरसम्म थुप्रै रसायनहरु मिसिएका छन् । स्टील उद्योगको केमिकल देखि मासु उद्योगले फाल्ने फोहोरसम्म नदीमै मिसाइएको छ । उद्योगले फोहोर प्रशोधन गरेर मात्रै नदीमा फाल्न पाउने कानुनी व्यवस्था भएपनि यहाँका थोरै संख्याका उद्योगले त्यस्तो प्रशोधन प्लान्ट बनाएका छन् तर धेरै खासगरी ठूला र बढी फोहोर निस्कासन गर्नेले त्यसरी प्रशोन गर्ने प्लान्ट बनाएका छैनन् ।
भवनीपुर गाउँ वीरगंज पथलैयाको बीचमा पर्दछ । सोही टोलकै अगुवा ओमप्रकाश साह भन्छन्, ‘हाम्रो खेतमा फल्ने अन्नबाट हामीले विष खाईरहेका छौं, प्रदुषण सहेर बस्न बाध्य छौं । अहिले यहाँका बच्चा तथा युवाहरु समेत कलेजोको रोगी तथा क्यान्सर र छालाको रोगबाट पीडित छन् ।’
भवानीपुरसँगै जोडिएको गाउँ हो सौराहा । यहाँको बाक्लो बस्तीसंगै जोडिएका छन् तीनवटा मासु तथा मासुजन्य उद्योगहरु छन् । मध्यमाञ्चल वोन चिप्स प्रालि, नारायणी बोन चिप्स उद्योग र हिरो बफ मिट सप्लायर्सले मासु प्रशोधन गरी निर्यात गर्छन् । बाँकी हड्डी र जनावरका विभिन्न भागहरु खुल्ला ठाउँमै भण्डारण गर्नाले वस्तीमै नराम्रो दुर्गन्ध फैलिइरहेको छ । कारखाना नजिकै रहेको रामजानकी मन्दिरमा कागहरुले टिपेर ल्याएका हड्डीले मन्दिर समेत प्रभावित बनेको मन्दिरका पुजारीहरुहरुले दुखेसो गरे ।
शाहले भने, ‘यति मात्र नभई हावा चल्दा त पुरै गाउँ मै बसि नसक्नु हुन्छ । पकाएको खाना समेत हामीले कति दिन खान सकेका छैनौ दुर्गन्धले गर्दा । हामी कहाँ गएर बस्ने?’ टोलबासीको उजुरीपछि तीनबर्ष अघि वीरगंज महानगरपालिकाले अनुगमन गरेर प्रतिवेदन तयार गर्यो । शाहले भने, ‘तर कार्वाही भएन । पछि सोध्दा त महानगरबाटै प्रतिवेदन नै हराएको जवाफ पाइयो ।’
दुई दशकअघिसम्म भवानीपुरका बासिन्दाले नदीकै पानी पिउने गर्दथे तर सिर्सिया नदीमा त्यस यता दर्जनौं उद्योगले फोहोरलाई सोझै नदीमा फालिदिनाले नदीमा अहिले त्यही फोहोरमात्रै बगेको देखिन्छ । प्रदूषण फैलाउने कारखानाहरु कानूनी दायरामा नआउँदा वातावरणसँगै मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको ठाकुरराम बहुमुखी क्याम्पसका प्रोफेसर दीपक शाक्यले बताए ।
चैत महिनामा मात्र ६ सय ४ जना छालारोगी, ८२ जना आँखापाक्ने रोगी, ९१ जना मुटुरोगी, श्वासप्रश्वासका रोगी २ सय ४७ जना र झाडापखाला भएका १ सय १५ जनाले नारायणी अस्पतालमा उपचार गर्न आएका थिए ।
अस्पतालकी मुटुरोग विशेषज्ञ डा. राधा भट्टराईले भनिन् ‘वीरगंज पथलैयाका उद्योगको कारणले हामीकहाँ पहिलेभन्दा विरामीको चाप बढिरहेको पाएका छौं । विरामीहरुमा उद्योगको धुँवाले छातीको समस्या र मुटुको चाल घटबढ भएका विरामीहरु धेरै आउने गरेका छन् ।’ वातावरण र नदि प्रदुषण हुँदा यस आसपासका सर्वसाधारणमा पनि श्वासप्रश्वास र टिभी रोगी बढ्न थालेको नारायणी अस्पतालका अर्का डाक्टर अरुणकुमार कर्ण बताउँछन् । कारखाना वरपरका स्वास्थ्य संस्थाकै तथ्याङ्कबाट पनि आँखा, छाती, पेट र छालाको रोगका बिरामी बढी आउने गरेको जनस्वास्थ्य कार्यालयका अधिकृत कामेश्वर चौरसियाले बताए । अस्पतालका चिकित्सकका अनुसार नदीको प्रदुषित पानीको कारणले छालाका रोगी, आँखा पाक्ने र थाईराईडको समस्या भएका विरामीको संख्या बढेको छ ।
२०६५ साल ताकासम्म यहाँका बासिन्दाहरुले उद्योगको फोहोरले मानव स्वास्थ्यमा गम्भीर असर परेको खासै भेउ पाएका थिएनन् । नदी वारपार गर्दा हातखुट्टा चिलाउने छालामा विभिन्न खालका दागहरु देखिन थालेपछि स्थानीयहरु सतर्क हुन थाले । नदीछेउमा चरेका गाईवस्तुमा पनि नयाँ खालको घाउ देखिन थाल्यो ।
त्यसपछि सिर्सिया नदी बचाउ अभियानमा लागेका ओम प्रकाश साहले भने, ‘यहीका वडा अध्यक्षलाई वास्ता छैन, नगरपालिका पनि हामीलाई वास्तै गदैन कस्लाई के भन्ने हामी निमुखाले ।’
स्वच्छ बातावरण सृजना अभियान नेपाल नामक संस्था समेत खोलेर समुदायका बुद्धिजीवि समेतलाई गोलबन्द गरी अभियान थालेका साहले विलौना गरे, ‘हामीले जति गरेपनि उद्योगीहरु टँसमस भएका छैनन् । उनीहरुले स्थानीय प्रशासन र सरकार कसैलाई टेर्दैनन् ।’
त्यतिबेला अभियानमा लागेकाहरु र स्थानीय मिलेर नदीमा फोहोर गर्ने विरुद्ध निरन्तर प्रदर्शन गरेका थिए । २०६७ सालमा नदीको प्रदूषणबारे अध्ययन गर्न बनेको स्थानीय सरकारी तथा गैरसरकारी संस्थाहरुको संयुक्त अध्ययन कार्यदलले नदीको फोहरमा सल्फयुरिक एसिड, सोडियम क्लोराइड, लाइम, सोडियम सल्फाइड, अल्म्युनिम सल्फेट, फर्मिक एसिड, क्रामियम सल्फेट, सिन्थेन, प्रिजरभेटिभ लगायतको रसायनको मिश्रण रहेको रिपोर्टमा देखाएको थियो । यी रसायनहरुले मानिसको छालामा परेमा हानी पुर्याउने तथा अन्य विभिन्न रोगहरुको पनि कारक हुने नारायणी अस्पतालका डाक्टरहरुले बताएका छन् ।
नारायणी अस्पतालका बरिष्ठ चिकित्सक अतुलेश चौरसियाले भने, ‘ ती रसायनहरु मानवस्वास्थ्यका लागि हानिकारक छन् । त्यसकै कारणले यस क्षेत्रका व्यक्तिहरुमा छाला सम्बन्धी विभिन्न थरिथरिका रोगहरु देखा परेको हुनुपर्छ ।’ उद्योग कारखानाकै कारण स्वास्थ्य सम्बन्धि धेरै जटिलताहरु लिएर बिरामीहरु अस्पताल आउन थालेका छन् उनले भने । प्रदूषणले मुटुको चाल परिवर्तन, झाडापखाला, आखाँदुख्ने जस्ता समस्याहरु बढीमात्रामा देखिने गरेको चिकित्सकहरुको भनाई छ । औधोगिक क्षेत्र भित्र मानव स्वास्थ्यका लागि कामदारहरुले अपनाउनु पर्ने सुरक्षा उपायहरु समेत खासै नजअपनाइएको कारण कामदारलाई पनि विभिन्न रोगहरु लागिसकेको हुन सक्छ भन्छन् सोही अस्पतालकै चिकित्सकहरु बताउँछन् ।
वातावरण पत्रकार चन्द्रकिशोर झावातावरण पत्रकार चन्द्रकिशोर झा नेपालमा प्रदुषणको मापदण्ड मुल्यांकन गर्ने पद्दती नै नरहेकाले समस्या हुने गरेको बताउँछन् । ‘कुन उद्योगले कस्ता खालका सामाग्री उत्पादन गर्छन्, त्यसले वायु, नदी र जमिनमा कति सम्मको प्रभाव पार्छ भन्ने मूल्यांकन र कार्वाही नहुने गरेकाले उद्योग सञ्चालकहरुले मनलाग्दी काम गरिरहेको छन् ।’
स्थानीयको संघर्ष जारी रहेपछि २०६९ साल माघमा उद्योग मन्त्रालयले एक अनुगमन टोली वस्तुस्थिति बुझ्न खटाएको थियो । सरकारलाई नटेर्ने १३ वटा उद्योगलाई ऐनले तोकेको मापदण्ड पुरा नगरेको र पटक पटक पत्राचार गर्दा समेत फोहर मैला व्यवस्थापनमा अटेर गरेको भन्दै कारबाही गरेको थियो ।
कान्तिपुर दैनिकले त्यतिबेला प्रकाशित गरेको समाचारका अनुसार ५० हजार देखी चार लाख ९० हजार रुपैयाँसम्म जरिवाना गराएको थियो । कारवाहीमा पर्नेमा थिए दुई औषधी उधोग, चार वटा छाला उधोग, दुई वटा स्टिल कारखाना र एक/एक टेक्स्टायल उधोग, कागज उधोग र मदिरा उधोग रहेको कान्तिपुरले लेखेको थियो ।
निक्कै थोरै रकम जरिवाना भएकोले कारबाही प्रभावकारी भएन । ती नदी प्रदूषण गर्ने उद्योगहरुसँग वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी पनि सन्तुष्ट छैनन् । संघका अध्यक्ष सुवोध गुप्ता भन्छन्, ‘उद्योगहरुले भित्रभित्रै क्यान्सर उत्पादन गरिरहेका छन् तर यी उद्योगहरुले प्रशोधन प्लान्ट भने कागजमा मात्रै बनाएका छन् ।’ उद्योगहरुको लापरवाहीबाट उद्योगमा काम गर्ने स्थानीय मजदुरहरु पनि जोखिम छन् ।
प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहवीरगन्ज औद्योगिक करिडोरमा सानाठूला गरी ३ हजार ४ सय कलकारखाना छन् र ती उद्योगमध्ये ४६ वटा ठूला उद्योगले फोहोर प्रशोधन नगरीकनै सिर्सिया नदीमा फालेको तथ्य आजभन्दा ११ बर्ष पहिले नै पाइएको थियो । यहाँका यिनीहरुले वातावरणीय प्रभाव मूल्यांकन पनि गरेका छैनन् । प्रदूषण विरुद्धको अभियानमा सक्रिय संस्था प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले निराशा व्यक्त गर्दै भने, ‘करीब चार दर्जन बढी उद्योगले कानून उल्लंघन गरी मानिसको स्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेका छन् तर २०६७ सालमा हामी लगायतले गरेको अध्ययन पश्चात् रहस्यमय ढंगबाट सरकारी अनुगमन हुन छाडेको छ ।’
औद्योगिक कोरिडोरका उद्योगकै प्रदुषण सिर्सिया नदीमा मिसिँदा यस भेगका प्रसौनी, सबैठवा, रामगढवा, मनियारी, भवानीपुर, लालपर्सा, प्रसोतीपुर, बेल्वा, चोर्नी, राधेमाई, रानीघाट लगायतका स्थानीयहरुमा छालाका रोगी, घाऊ, खटिरा आदिका बिरामीहरुको संख्या बढिरहेको जनस्वास्थ्यकर्मीहरु बताउँछन् ।
ती उद्योगहरुको चरम लापरवाहीले सिर्सिया बाहेक मकहरीया, गंगोल, ओरिया, नौरंगी, तिलावे, र सोतखोला जस्ता साना ठूला खोलाहरु पनि उद्योगको फोहोरको चपेटामा परेका छन् ।
दिउसो कारखाना चलिरहदाँ कारखानाहरुबाट नदीमा मिसिएर बग्ने लेदो सहितको पानी ।करीब १५० उद्योग नै मुख्य कारण
सर्सिया नदी बचाउ अभियानका अध्यक्ष ओम प्रकाश साहका अनुसार २०६७ सालमा अभियानको नेतृत्वमा गरेको अध्ययनले ४६ उद्योगहरुले नदीमा सबैभन्दा बढी प्रदूषण गरेका थिए । उद्योगले नदीमा फालेको फोहोर मिसिएको पानी अध्ययन गरी विस्तृत प्रतिवेदन तयार पारिएको थियो । त्यसयता यसरी पानीको परीक्षण तथा प्रतिवेदन तयार भएको भेटिएन ।
मेयर विजय सरावगीयस्तो विस्तृत विवरणसहित प्रतिवेदन तयार भएपछि पनि ती उद्योगहरुलाई कारवाही गर्न कसैले चासो देखाएन । एक दशकपछि समस्या झन् बल्झेको कुरा नारायणी अंचल अस्पतालमा आउने विरामीको संख्या, चिकित्सकहरुका भनाई अनि स्थानीय अगुवाको भनाईबाट बुझ्न सकिन्छ ।
त्यतिबेला नै नदीमा सोझै फोहोर फाल्नेमा वीरगंज उपमनगरपालिका (पछि महानगरपालिका भएको) आफै थियो । अहिले पनि महानगरपालिकाले नै नदीमा फोहोर प्रशोधन नगरी फालिरहेको छ । महानगरका मेयर विजय सरावगीले नदीमा फोहोर फाल्ने रोकिएको बताए पनि पहिल्यैदेखि नदीमा जोडिएका नालाहरु अझै पनि नदीमै जोडिएका छन् । सरावगीले भने, ‘ती नालाहरुलाई अहिल्यै हामीले मात्रै अन्यत्र डाइभर्ट गर्न सक्दैनौ त्यसको लागत ६० देखि ८० करोड रुपैयाँ छ । यसको लागि केन्द्रले नै बजेट दिनु पर्छ ।’
हामीले सरावगीलाई अभियानले ११ बर्षअघि तयार पारेका तथ्यांक देखायौं । सरावगीका अनुसार ती ४६ मध्ये इष्टर्न टेक्सटाइल र साल्ट एण्ड स्वीट विरगंज बन्द भैसकेका छन् भने अरु यथावत् चलिरहेका र अहिले औद्योगिक कोरिडोरमा रहेका नदीमा फोहोर प्रशोधनविनै फाल्ने उद्योगहरु करीब १५० वटा रहेको छन् । हालैका बर्षहरुमा थपिएका कागज तथा भुस उद्योगहरुले झन् हावामा पनि प्रदूषण झन् बढाएको कुरा सरावगीले बताए ।
ओम प्रकाश शाहले पनि ती ४६ मध्ये एक दुइ वटा बन्द भए होलान् तर त्यसभन्दा धेरै नदीमा हानिकारक फोहोर फाल्ने उद्योग थपिएका छन् । वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले पनि त्यसरी प्रदूषण गर्ने उद्योगको संख्या यकिन भन्न नसकिने बताए ।
२०७४ सालमा लामो समयको अन्तरालपछि आएको स्थानीय सरकारप्रति आशावादी भएका थिए सिर्सिया बचाउ अभियान्ताहर । प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंह लगायतले वीरगंज महानगरका मेयर बिजय सरावगीलाई सिर्सिया नदीको प्रदुषण नियन्त्रण गर्न माग राख्दै ध्यानाकर्षण गराएको पनि तीन बर्ष वितिसकेको छ । सिंहले भने, ‘तर मेयरबाट समेत न सन्तोषजनक जवाफ आयो न कुनै प्रतिबद्धता ।’
सबैको अकर्मण्यताका बीच सिर्सिया नदी बचाउमा लागेका अभियन्ताहरु नै निराश बनेका छन् । बैशाखको पहिलो साता हामीसँग कुरा गर्दै प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले भने, ‘जति कोशिस गर्दा पनि सिर्सिया नदीलाई सफा र स्वच्छ बनाउन सकेनौं ।’
फोहोर प्रशोधन नगरी नदीमा फाल्ने ४६ उद्योगहरु
1) नारायणी लेदर मेनुफेक्चरिङ्ग रामपुर टोकनी बारा | 24) सुशिल बनस्पति प्रा.लि. |
2) मोरियम लेदर ईन्डस्ट्रीज, लिपनी विर्ता पर्सा | 25) नारायणी रिफाईनरी उद्योग |
3) ग्लोबल लेदर ईन्डस्ट्रीज प्रा.लि. लिपनीविर्ता पर्सा | 26) श्री कृष्ण आयल रिफाइनरी एण्ड भेजिटेवल घ्यू इ. प्रा.ली. |
4) नेपाल लेदर ईन्डस्ट्रीज लिपनी विर्ता पर्सा । | 27) आरती भेजिटेवल प्रोडक्स छाता पिपरा |
5) एभेरेष्ट लेदर ईन्डस्ट्रीज रामपुर टोकनी बारा | 28) माहालक्ष्मी सोलभेन्ट उद्योग |
6) नेशनल लेदर ईन्डस्ट्रीज प्रा.लि, वी. वीरगंज | 29) पुजा सोप एण्ड केमिकल उद्योग, बजनी |
7) स्टेन्डर ट्रेडिङ्ग ईन्डस्ट्रीज परवानीपुर, ताजपुर बारा | 30) आरती सोप केमिकल इ. एण्ड |
8) प्रोगेसिभ छाला उद्योग परवानीपुर, ताजपुर, बारा | 31) सुशिल सोप एण्ड केमिकल |
9) डाबर नेपाल प्रा.लि. रामपुर टोकनी, बारा | 32) आरती सोप केमिकल इ.प्रा.लि. छातापिपरा |
10) त्रिवेणी टेक्सटाईल, रामपुर टोकनी, बारा | 33) शिवशतिm सोप इन्डष्ट्रिज |
11) अर्निका प्रोसिङ्ग इन्डस्ट्रीज, परवानीपुर | 34) ममना प्लास्टिक उद्योग रामगढवा |
12) सिद्धी टेक्सटाईल, परवानीपुर | 35) हुलास स्टील, सिमरा बारा |
13) डायमण्ड टेक्सटाईल, परवानीपुर | 36) जगदम्बा स्टील सिमरा, बारा |
14) इष्टर्न टेक्सटाइल इ. छातापिपरा, बारा ८ * | 37) हामा स्टील, सिमरा बारा |
15) नेपाल टेक्सटाईल बहुअरी, वीरगंज पर्सा | 38) शाःख स्टील, सिमरा बारा |
16) अमृत घ्यू उद्योग, परवानीपुर, त्रिवेणी ग्रुप | 39) भगवति स्टील, छातापिपरा |
17) अन्नपुर्णा भेजिटेवल सोप उद्योग, त्रिवेणी ग्रुप | 40) हनुमान मेटल, छातापिपरा |
18) न्यु अनिल टेक्सटाईल, बहुअरी, गण्डक | 41) हिमाल आयरन, छातापिपरा |
19) अमित पेष्टिसाइट, वीरगंज | 42) जय विशवकर्मा इ. वीरगंज |
20) शिवशतिm घ्यू उद्योग जितपुर | 43) साल्ट एण्ड स्वीट वीरगंज ८ * |
21) सुर्य एग्रो प्रोडक्ट एण्ड कुसुम आयल | 44) आर्या फर्मास्विटीकल्स छातापिपरा |
22) विनायक एग्रो कत्था मीलछाता पिपरा | 45) बीरगज महानगरपालिका |
23) पशुपति कत्था मील जिपुर | 46) बीरगज महानगरपालिकाको रानीघाट क्षेत्रमा रहेको अबैध रक्सी भट्टी * |
* हाल बन्द भैसकेको स्रोतः २०६७ सालमा सिर्सिया नदी बचाउ अभियानले गरेको अध्ययन प्रतिवेदन
वीरगंज पथलैया औधोगिक करिडोरको विचमै पर्ने नदी तथा कारखानाको प्रत्यक्ष असर परेको मनियारी गाऊँका स्थानीयहरु ।उद्योगीहरु कसैलाई टेर्दैनन्
वातावरण ऐन २०५३ ले वातावरणलाई प्रतिकूल हुने गरी कुनै पनि उद्योग धन्दाले फोहोर मैला निस्कासन गर्न नपाउने तथा कुनै पनि उद्योगले ध्वनि, प्रदुषण वा अन्य किसिमको हल्ला गर्ने काम गर्यो भने, उद्योगलाई ५० हजारदेखि एक लाखसम्मको जरिवाना र वैकल्पिक उपाय नअपनाएसम्म उद्योग बन्द गर्ने समेतको व्यवस्था ऐनले गरेको छ ।
अधिवक्ता कमल मोहन पोखरेलउद्योग मामिलावारे जानकार अधिवक्ता कमल मोहन पोखरेलले भने, ‘उद्योगहरु खोल्नका निम्ति सर्वप्रथम वातावरणीय प्रभाव मूल्यांकन गराएर मात्रै उद्योग खोल्न पाईन्छ । यदि यो नगराई वा नियमविपरित सञ्चालन गरिएको पाइएमा पनि सोही कारवाही हुने व्यवस्था ऐनमा छ ।’
तर कानुनको पालना भएन । मानवस्वास्थ्यमा गम्भीर खेलबाड भइरहँदा पनि सबैको काम झार टार्ने वा ठीकठाक पार्ने मात्रै रहेको पाइन्छ । उद्योगीहरुको संघ वीरगंज उद्योग बाणिज्य संघ नै उद्योगीहरुसँग याचना नदीमा फोहोर नफाल्न आग्रह गरिरहेको छ । संघका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा भन्छन्, ‘जुन उद्योगले पैसा कमाउँछ, त्यो उद्योगले प्रशोधन प्लान्ट स्थापना गरेर सफा पानी मात्रै नदीमा फाल्न पाइन्छ तर बिडम्बना धेरैले त्यस्तो प्लान्ट कागजमा मात्रै स्थापना गरेका छन् ।’
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतउता सरकारी निकायहरु भने कानुन अपर्याप्त छ भन्दै पन्छिने गरेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि ठीकठाक पार्ने कुरा गर्छन् । राउत भन्छन्, ‘कुनै पनि लगानीकर्ताले उद्योग स्थापना गर्दा सर्वसधारणको स्वास्थ्य र मर्कालाई बुझेर नै आफनो कारखाना स्थापना गर्नुपर्छ ।’ तर उनले गएको साढेतीन बर्षमा ती उद्योगीहरुलाई बोलाएर सचेत समेत गराएका छैनन् ।
उता कारवाही गर्न खोज्ने जिल्लामा खटिएका अब्बल प्रहरी तथा प्रशासन प्रमुखहरुलाई नै सरुवा गरिनुले पनि उद्योगीहरु कानून हातमा लिएर बसेका छन् भन्ने स्पष्टै देखिन्छ ।
२०६८ सालमा तत्कालीन पर्सा जिल्ला प्रहरी प्रमुख रमेश खरेलले प्रदूषण फैलाउने उद्योगका व्यवस्थापकहरुलाई बोलाएर प्रदूषण नियन्त्रण गर्न प्लान्ट जडान नगरे सार्वजनिक अपराधमा मुद्दा चलाउने भनी चेतावनी दिएका थिए । तर तिनै उद्योगी व्यापारीले उनलाई त्यहाँबाट सरुवा गरेको दाबी गर्छन् खरेल । उनी भन्छन्, ‘आफ्नो प्रहरी सेवाकालमा देशका थुप्रै जिल्लाहरुमा काम गरेर देखाए पनि उद्योगीलाई सिर्सिया नदीमा फोहोर फाल्नबाट रोक्न सकिन । मेरो चेतावनीका वदला लिन उद्योगीहरुले व्यक्तिगत देखि संगठनभित्रैबाट पनि दबाब दिएर मलाई सरुवा गराए ।’ २०७६ सालमा पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्गले पनि सिर्सिया नदीमा प्रदूषण गर्ने कलकारखानालाई नेपालको प्रचलित कानून अनुसार दण्ड सजाय दिने र अटेरी गरेमा उद्योग नै बन्द गराइदिने कुरा उद्योगीलाई सुनाए । उनको पनि त्यसको एक साता नवित्दै त्यहाँबाट सरुवा भयो । यी घटनाहरुबाट उद्योगीहरुले आफूलाई कानून भन्दामाथि राख्न सफल भएकोे देखिन्छ ।
कारखानाको प्रदुर्शनले मानव स्वास्थ्यमा पारेको असर ।नदीमा प्रदूषण गर्ने ४६ मध्ये नारायणी रिफाईनरी उद्योगका संचालक शुसान्त चाचानले मानवस्वास्थ्यलाई हानि हुने प्रदुषण नगरेको दाबी गरे । उनले भने, ‘उद्योगको फोहोर प्रशोधन गर्ने जिम्मेवारी हामी उद्योगीको होइन । विभिन्न देशहरुमा सरकारले यस्ता प्रशोधन प्लान्टहरु राखिदिने गर्दछ तर हाम्रोमा सरकारले राखिदिएको छैन ।’
पर्सा १ का सांसद प्रदीप यादवयसैगरी शालिमार सिमेन्ट, केएनपी पेन्टस, शालिमार मेटल, हेमन्त ईन्डष्ट्रिज लगायतका सञ्चालक तथा वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैद्य भन्छन्, ‘उद्योगीहरु मात्रै दोषी नरहेको दाबीमात्रै गरेनन् सरकारलाई नै दोषी देखाए । ’ उनले भने, ‘उद्योगको प्रदूषण नियन्त्रण गर्नका लागि सरकारले हामीलाई बस्तीभन्दा टाढा औद्योगिक क्षेत्रको व्यवस्था गरिदिनुपर्छ ।’
पर्सा १ का सांसद प्रदीप यादवले भने, ‘उद्योग वाणिज्य संघमार्फत् समिति गठन गरेर उक्त कुराको निगरानी गरिने भन्दै झुलाएका छन् हामीलाई पनि । तर त्यो पनि कुरामै मात्रै रह्यो सबैजना रहस्यमय ढंगबाट चुपचाप बसेका छन् ।’ उनले भने, ‘उद्योगीहरु कानुन भन्दा माथि भएकाले हामीले पटक पटक प्रयास गरे पनी अझै कार्वाही गर्न सकेका छैनौं ।’
यसैबीच प्रतिनिधिसभाको उद्योग बाणिज्य श्रम तथा उपभोक्ता हित समितिले सांसद देवेन्द्र पौडेलको संयोजकत्वको ११ सदस्यीय सिर्सिया नदीको फाहोर पानी नियन्त्रण तथा वारा पर्साको उद्योग तथा कलकारखानाले गरिराखेको प्रदूषणवारे अध्ययन उपससमिति गठन गरेको छ । गत चैत १२ गते उपसमितिले पर्सा, बाराका उद्योगहरुको स्थलगत अनुगमन गरेको छ । उपसमितिका सदस्यसमेत रहेका सांसद् प्रदीप यादवले भने, ‘अनुगमनका क्रममा जगदम्बा स्टील, नारायणी छाला उद्योग, त्रिशक्ति सिमेन्ट, चावों सति फिड, हडी उद्योग, अमृत घ्यु, राज–हंस घ्यु लगायतका उद्योगको स्थलगत निरीक्षण गरी प्रतिवेदन समितिसमक्ष पेश भएको छ ।’ तर यसवारे समितिले कुनै थप निर्णय लिन भने बाँकी नै छ ।
सांसद् यावदले भने, ‘सरकारलाई कर तिर्दैमा उद्योगले नदीमा फोहोर फालेर मानव ब्स्ती कै उठिबास हुने अवस्थमा पुर्याएका छन् । यस्तो मनपरी गर्ने अधिकार उद्योगीलाइ कसले दियो?’
– यो आलेख तथा फिचर इन्टरन्युज र अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिता रिपोर्टिङ कार्यशालापछि तयार पारिएको हो ।