देशका विभिन्न कलेजले विद्यार्थीहरुबाट बढी शुल्क उठाएको कुरा आईरहदा वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले समेत विद्यार्थीहरुबाट नियम विपरीत अतिरिक्त शुल्क उठाएको पाइएको छ ।
एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट बसरुद्दिद अन्सारीले सञ्चालन गरेको नेशनल मेडिकल कलेजले कानुनविपरीत शुल्क उठाएको पाइएको हो ।नेपाल सरकारले तोकेको शुल्क विपरीत कलेजले विभिन्न बहानामा अतिरिक्त थप पैसा तिराउने गरेको विद्यार्थीहरूका खुलासा गरेका छन् ।
सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ । तर, नेशनल मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको देखिन्छ ।
एक विद्यार्थीका अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले मनपरी शुल्क उठाइरहेको हो । शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भने, बमोजिम शुल्क बुझाउन बाध्य भएको ती विद्यार्थीले बताए।
विद्यार्थीले बुझाएको विवरणमा पाँच लाख रुपैयाँ लिखित रूपमै उठाएको पाइएको छ । नेसनल मेडिकल कलेजले परीक्षा, रजिष्ट्रेसनबापत ३५ हजार रुपैयाँ उठाएको छ ।
लाइब्रेरी शुल्क भन्दै ३५ हजार, ल्याब शुल्क ३५ हजार, ‘प्रमोसन’ बापत १ लाख २५ हजार, होस्टल ८५ हजार, मेस शुल्क ९० हजार, बिलम्ब शुल्क १६ हजार ८ सय र अन्य गरेर ४० हजार रुपैयाँ उठाएको छ ।