सडेको चामल तथा दाल राहतमा वितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले उनलाई मंगलबार पक्राउ गरेको हो । यसअघि जिल्ला प्रहरी कार्यालय बाराले कलैया उपमहानगरपालिका १ का वडाध्यक्ष हरिओम साह सोनार, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया १३ का वडाध्यक्ष राजन पटेल, वडा नं. ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई नियन्त्रणमा लिइसकेका छन् ।
लकडाउनको कारणले न्यून आर्थिक अवस्थामा रहेका स्थानीयलाई खानाको लागि समेत समस्या परेका बेला स्थानीय निकायका जनप्रतिनिधिहरु यसैबेला कमाऊ धन्दामा लागेका छन् ।
देशका गरिब जनता भोकै मर्ने अवस्थालाई देखेर नै संघीय सरकारले स्थानीय सरकारहरुलाई आफ्नै बजेटबाट अति विपन्नलार्ई राहत बितरण गर्न निर्देशन दिएको छ । तर बारा जिल्लाका कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिवहरु भने गुणस्तीय खाद्यान्नको रकम झवाम पारी स्थानीयलाई गुणस्तरहीन दाल खरिद गरी राहत बाँडेका छन् ।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाकारी गराएका छन् । आधा दर्जन वडाका हजारौ परिवारलाई कुहिएको दाल बाँडिएको गुनासो आएपछि स्थानीय प्रशासनले कोल्डस्टोरबाट र राहत बाँडेको दाल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो ।
गुण नियन्त्रण कार्यालयले दाल गुणस्तरहीन भएको पुष्टि गरेपछि प्रहरीले अनुसन्धान गर्न थालेको हो । प्रहरीले कोल्डस्टोरमा भण्डारण गरिएको ३ सय ८० बोरा दाल सिल गरिसकेको छ ।